News 24 Television
जाइकाको सहयोगले पोखराबासीलाई पानीमा राहत मिल्दै 

काठमाडौं । जापानी सहयोग परियोजना जाइकाको अनुदानमा ४ अरब ८१ करोड रुपैयाँको खानेपानी सुधार आयोजना पोखरामा सुरु भएको छ । यो आयोजना सुरु भएसँगै पोखरामा धाराको पानी सिधै पिउन मिल्ने छ, तथापि पोखरामा खानेपानीको माग बमोजिम पर्याप्त भने छैन । 

शुक्रबार खानेपानी मन्त्री प्रदीप यादवले आयोजनाको उद्घाटन गरेका हुन् । १२ किलोमिटर टाढाको मर्दी मुहानबाट पानी ल्याई पोखरामा वितरण गर्ने आयोजना नेपाल सरकारको ऋण लगानी र जापान सरकारको चार अर्ब ८१ करोडको अनुदान सहयोगमा निर्माण भएको हो । 

मेलम्चीपछिको ठूलो भनिएको यो आयोजनाबाट पोखरा महानगरको वडा नम्बर १ देखि १९ सम्म करिब पाँच लाख जनसंख्या लाभान्वित हुने अपेक्षा खानेपानी संस्थानको छ । 

मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधैं पिउन सकिने पानी पु¥याउने आयोजनाको लक्ष्य हो । 

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ग्रिट च्याम्बर हुँदै ल्याइएको पानी पुरुन्चौरमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिन्छ । पानी शुद्धिकरणको यो आयोजना निर्माण भएसँगै अब ५ लाख जनजसंख्याले धाराबाट सिधै पिउन सक्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउँछन् । 

पानी शुद्धिकरणको लागि निर्माण भएको यो आयोजना अन्तर्गत १ सय १० किलोमीटर पाइप बिच्छ्याई सकिएको आयोजनाले जानकारी दिएको छ । 

खानेपानी भण्डारण गर्न पोखराको फूलबारी, पस्र्याङ र कोलपाटनमार्फत् बजारका विभिन्न भागहरुमा वितरण हुनेछ । यो आयोजना सन् २०१७ मा पोखराको जनसंख्यालाई आधार मानी निर्माण सुरु गरिएको तर अहिलेसम्म आउदा पोखराको जनसंख्या वृद्धि हुँदा आयोजनाले मात्र पानी पर्याप्त नहुने नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्की बताउँछन् । 

पोखराको विकासमा जापानी सहयोग परियोजना जाइकाको योगदान ठूलो छ । जाईकाकै अनुदानमा निर्माण भएको यो आयोजनाले पोखराबासीलाई ठूलो राहत मिलेको छ । यसै आयोजनाकै कारण पोखरा र जापानका नागरिक बीचको सम्बन्ध अझ प्रगाढ बन्ने जाइकाकी उपप्रमुख तानाका तोमातो बताउँछिन् । 

हाल पोखराको सहरी भेगको १९ वटा वडामा आठ करोड ७० लाख लिटर पानीको माग छ । जसमध्ये ६ करोड ७७ लाख लिटर पानी मात्र उपलब्ध छ । खानेपानी संस्थानले मोर्दी खोलाबाटै थप ५० लाख लिटर पानी पोखरा ल्याउनको लागि अर्को आयोजनाको टेन्डर खुलाइसकेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update