रुपन्देही । लुम्बिनी बौद्ध विश्व विद्यालयबाट २८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् ।
लुम्बिनी बौद्ध विश्व विद्यालयबाट २८९ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा प्रत्येक संकायबाट स्नातकतह र स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट १३ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान समेत गरिएको छ ।
यस्तै, विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि समेत प्रदान गरेको छ । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएको भन्दै भिक्षुणी धम्मावती अर्थात् गणेशकुमारी शाक्यलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिएको छ ।
९१ वर्षीया उनी भक्तपुर निवासी हुन् । दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन दीक्षित विद्यार्थीहरुलाई आग्रह गरे ।
म्यानमारका बौद्ध धर्मगुरु सीताको स्याडोले लुम्बिनी बौद्ध दर्शनको थलो भएको जनाए । उनले लुम्बिनीको विकास हुँदा बौद्धमार्गी मात्रै नभई शान्तिप्रेमी सबै खुशी हुने बताए ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृति सहित अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धानसँगै बौद्ध शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिइन् ।
उनले प्रविधिलाई पछ्याउँदै अघि बढ्नुपर्ने जनाइन् । विद्यावारिधि उपाधि प्राप्त ९१ वर्षीया भिक्षुणी धम्मावतीले झै सबैले राम्रो काम गरेर नेपालको इज्जत विश्वमाझ राख्न सक्नुपर्ने बताइन् ।
२०८० देखि ०९० को दशकलाई ‘अवको दशक, प्राज्ञिक र सृजनात्मक’ नारासहित विश्वविद्यालयले प्राज्ञिक कार्यलाई अगाडि बढाइरहेको छ । विश्व विद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिकशास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि सहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । ती शैक्षिक कार्यक्रमहरुमा २ हजार ३ सय ८ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ६८ जना विदेशी विद्यार्थीहरु विश्वविद्यालयमा अध्ययन गर्देछन् ।