News 24 Television
बाग्मती प्रदेश सहकारी महाशाखामा उजुरीको चाङ

मकवानपुर । पछिल्लो समय देशैभर सहकारी समस्या नियन्त्रणभन्दा बाहिर गइरहेको छ । सहकारी संस्थाहरूले बढी कमाउने होडमा बचतकर्ताको रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दा आफै समस्यामा परेका हुन् । बागमती प्रदेश सहकारी महाशाखामा समस्यामा परेका सहकारीविरुद्ध बचतकर्ताले दिएको उजुरीको चाङ लागेको छ ।

बागमती प्रदेशको सहकारी तथा गरिवी निवारण मन्त्रालय मातहत रहेको सहकारी महाशाखामा पछिल्लो समय सहकारीमा जम्मा गरेको रकम फिर्ता माग्न उजुरी दिन आउने वचतकर्ताहरुको भिड लाग्ने गरेको छ । 

आफूले बचत गरेको रकम सहकारीले फिर्ता नदिएपछि प्रदेशका विभिन्न जिल्लाबाट हेटौंडास्थित सहकारी महाशाखामा रकम फिर्ताका लागि उजुरी दिन आउनेको संख्या बढ्दो छ । दुखले कमाएको रकम सहकारीमा फसेर बचतकर्ताहरलाई हैरानी छ ।   

सञ्चालक समितिको अध्यक्ष भागेको, बचत रकम फिर्ता नगरेको, महँगो ब्याज लगाएको, सञ्चालक र अन्यले ऋण नै नतिरेको, सञ्चालकबीचको लफडा, सञ्चालक समितिको अधिकारमा हस्तक्षेप लगायतका उजुरी छन् । २०७५ मा स्थापित महाशाखामा पहिलो उजुरी १९ फागुन २०७६ मा परेको महाशाखाले जनाएको छ । त्यसयता हालसम्मको अवधिमा ३१० वटा सहकारीविरुद्ध उजुरी परेकोे छ ।

यता, उजुरी परेका सहकारीहरुमध्ये केही सहकारी बन्द अवस्थामा छन् भने केही सञ्चालनमै छन् । उजुरी परेका मध्ये धेरै सहकारी काठमाडौंका छन् । प्रदेशको सहकारी महाशाखाले हालसम्म दुईवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको  महाशाखाका कानुन अधिकृत मनोज गुप्ताले जानकारी दिए । 

बागमती प्रदेशमा बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध र अन्य गरी ३ हजार २ सय ४८ वटा सहकारी सञ्चालनमा छन् । सबैभन्दा धेरै बचत तथा ऋण १ हजार ५४२, बहुउद्देश्यीय १ हजार १८५, कृषि २५४, दुग्ध ४८ र अन्य प्रकृतिका सहकारी २१९ वटा छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update