काठमाडौं । कुनै पनि क्षेत्रमा गरिने खोज तथा अनुसन्धानले नयाँ कुरा पत्ता लगाउन मद्दत गर्दछ । अझ स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ रोग तथा समस्या देखिने हुदाँ यस क्षेत्रमा गरिने अध्ययन अनुसन्धानको महत्व अझै बढि मानिने गर्दछ । तर, नेपालमा अहिले पनि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानले प्राथमिकता पाउन सकेको छैन ।
सन् २०१९ मा देखिएको विश्वव्यापी कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा गरिने खोज तथा अनुसन्धान कति महत्वपूर्ण छ भन्ने विश्वजगतलाई महशुस गरायो ।
छोटो समयमा विश्वलाई त्रसित बनाएको कोरोना भाइरस विरुद्धको खोप बनाइनु अुसन्धानको एक महत्वपूर्ण उपलब्धिका रुपमा अहिले पनि हेरिन्छ । स्वास्थ्य क्षेत्रमा देखा पर्ने नयाँ नयाँ समस्या र यसको उपचार पद्धतीका लागि आवश्यक पर्ने खोप तथा औषधीको खोजी निरन्तर चल्ने भएका कारण स्वास्थ्य क्षेत्रमा हुने अनुन्धानको महत्व अझै बढि हुने गर्दछ ।
स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानलाई विकसित मुलुकहरुले प्राथमिक्ताका साथ काम गर्ने गरे पनि नेपालमा भने स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धान त्यति दखिदैन ।
साथै संख्यात्मक रुपमा खोज र अनुसन्धान गरिए पनि गुणात्मक रुपमा भने त्यति नभएकोे यसका जानकारहरु बताउँछन् । साथै अनुसन्धानका लागि खर्च समेत बढी लाग्ने भएकाले विदेशी अुनसन्धानकर्ताको सहकार्यमा बढि गरिने भएका कारण नेपालले आफ्नो विषयमा अनुसन्धान समेत गर्न सकिरहेको छैन ।
विश्वका समृद्ध मानिएका मुलुकहरु समृद्धि र विकासको बाटो तर्फ लम्कनुको कारण सफल अनुसन्धान र विकासमा गरिएको राज्यको व्यापक लगानी नै हो ।
संयुक्त राज्य अमेरिकाको सन् २०२३ को बजेटले वैज्ञानिक आविष्कार, प्रविधिगत ब्रेकथ्रु, तथा नवप्रवर्तनलाई मानव ज्ञान विस्तार तथा एक्काइसौँ शताब्दीका चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने इन्जिनका रूपमा लिएको छ ।
सन् २०२२ मा अमेरिकाको अनुसन्धान र विकासका लागि खर्च कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ६ प्रतिशत, चीनको ३ दशमलव १ प्रतिशत, जापानको ३ दशमलव ४ प्रतिशत, दक्षिण कोरियाको ५ प्रतिशत तथा सबैभन्दा धेरै इजरायलको ५ पदशमलव ९ प्रतिशत रहेको थियो । तर, अनुसन्धान र विकासको क्षेत्रमा नेपालको सरदर खर्च कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ३ प्रतिशत मात्र रहेको एक अध्ययनले देखाएको छ । अझै स्वास्थ्य क्षेत्रमा गरिने लगानी अझै न्यून छ ।
नेपालमा स्वास्थ्य अनुसन्धानको प्रवर्द्धन र नियमन गर्ने उद्देश्यले २०४८ सालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गठन भएको छ । परिषद्ले हाल मानसिक स्वास्थ्य, नसर्ने रोगको जोखिम, रोगको भार स्वास्थ्य बीमा लगायत सरकारले प्राथमिकतामा अनुरुप राष्ट्रिय स्तरको अध्ययन तथा अनुसन्धान सञ्चालन गरेको छ ।
विश्वका अन्य मुलकमा स्वास्थ्य उपचारका लागि आवश्यक नयाँ खोप तथा औषधी विकास गर्ने जस्ता अनुसन्धानको क्षेत्रमा फड्को मार्न सफल बनिसकेको छ । तर नेपालले सामान्य अनुसन्धानबाट प्राप्त भएका तथ्य बाहेक अनुसन्धानको क्षेत्रमा फड्को मार्ने काम भने भएको देखिदैँन ।
विश्व स्वास्थ्य संगठनले विकासशील देशहरुमा स्वास्थ्य क्षेत्रको अनुसन्धान प्रवद्र्धन गर्न वार्षिक कुल बजेटको २ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताउँदै आएको छ । तर नेपालमा विगतको तुलनमा अनुसन्धानको क्षेत्र केहि फराकीलो भए पनि बजेट अभाव प्रमुख समस्याका रुपमा रहेको छ ।