News 24 Television
लगानीको वातावरण बनाउन नीतिगत सुधार आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले मुलुकमा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउनु नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

सरकारले परिमार्जन गरेका कानूनहरु संशोधन भए पनि नियमावलीहरु बन्न बाँकी रहेको उनकाे भनाइ छ । अब मुलुकमा थप आन्तरिक तथा बाह्य लगानीका लागि कानून संशोधन र नियमावलीहरु सँगै अगाडि बढाउन आवश्यक रहेको अध्यक्ष ढकालले बताए । उनले मुलुकमा लगानीका लागि अझै केही कानूनहरू संशोधन गर्न जरुरी रहेको पनि बताए ।

गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत कानून संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको उनकाे गुनासो छ । 

अध्यक्ष ढकालले भने, ‘विगतमा ऐन कानूनहरु केही संशोधन भए तर अहिलेसम्म नियमावली बन्न नसक्दा समस्या छ । सरकारले आन्तरिक तथा वाह्य लगानी सहजिकरण तथा वातावरण बनाउन अझै नीतिगत रुपमा धेरै सुधार गर्न आवश्यक छ । सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो । कानुनहरू संशोधन भए । तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ। त्यो चिजलाई सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा वाह्य लगानी भित्र्याउनका लागि होस् कतिपय कानून अझै परिवर्तन गर्नुपर्नेछ ।’

उनले वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै निजी क्षेत्रले यसलाई स्वागतका रुपमा लिएको बताए । उनले निजी क्षेत्रले दिएका सुझावअनुसार समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update