News 24 Television
सडक बनि नसक्दा ठाउँ–ठाउँमा भ्वाङ, सिन्धुलीमा चकमके सडकको हरिविजोग !

सिन्धुली । सिन्धुलीमाढी चकमके सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । कमलामाई नगरपालिका ७ माझिटारबाट जिर्घा पुल सम्म १४ किलोमिटर नाला सहित पक्क सडक निर्माण भएको छ । तर निर्माण सम्पन्न भएको पीच भने भत्किन थालेको छ । अहिले निर्माण भइसकेका सडकका ठाउँठाउँमा पिच उप्किएको देख्न सकिन्छ । सडकको यस्तो अवस्थाका कारण दैनिक सवारी दुर्घटना बढ्दो छ । 

बागमती प्रदेश सरकारको झण्डै साढे ३४ करोड लागतको सिन्धुलीमाढी चकमके सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिन्धुलीको कमलामाई नगरपाालिका ७ माझिटारबाट जिर्घा पुलसम्म साढे १४ किलोमिटर नाला सहितको पक्कि सडक निर्माण गरिएको हो । निर्माणको अन्तिम चरणमा पुगेको सडक भत्किने र पिच सडक उप्किने समस्या देखिन थालेको छ । कमलामाई नगरपालिका १२ बुदुनामा दैनिक आधा दर्जन सवारी दुर्घटना भइरने स्थानीय बताउँछन् ।   

सडक निर्माणमा लापरबाहि गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् । चमकेबाट सिन्धुलीमाढी आएका सिन्धुलीमाढीका कुमार दुलाल पनि बुदुनामा बाइक दुर्घटनामा परेको सुनाउँछन् । 

बुदुनामा झण्डै २० मिटर सडकको पिच सबै उप्किन थालेको छ । यहाँ सयौँ मोटसाइकल दुर्घटना भइसकेको छ । पूर्वाधार विकास कार्यालय सिन्धुलीले सडकको अनुगमन गरिरहेको बताएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सडकको ठाउँठाउँमा केहि कमजोरी भौतिक विकास कार्यालयका सूचना अधिकारी बताउँछन् । 

सडक निर्माणको काम आशिष डिएस जेभि हेटौँडाले गरिरहेको छ । सडकको काम निर्माणमा कमजोरी भएको निर्माण कम्पनीले भने स्वीकारेको छैन । निर्माण व्यवसायी निपेन्द्र कार्किले स्थानियले नै सडक भत्काएको आरोप लगाएका छन् । यद्यपी उनले यो कुरा क्यामेरामा भने वोल्न मानेनन् ।

माझिटारबाट जिर्घासम्मको सडक जम्मा १४ किलोमटर ५६० मिटर रहेको छ । सडक १२ मिटर चौडाईको छ । नालाको चौडाई १ दसमलव २ मिटर रहने बताइएको छ । ३४ करोड, ४० लाख ५८ हजार ७५७ रूपैयाँ लागतमा निर्माण ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार यहि मंसिर अन्तिममा सडक निर्माण सम्पन्न भइसक्नु पर्छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update