
काठमाडौं । काठमाडौं महानगरपालिकाको सबैभन्दा ठूलो वडाको रुपमा रहेको १६ नम्बर वडामा उप निर्वाचनका लागि दल र स्वतन्त्र गरि १७ उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले आफ्नो बिरासत जोगाउन लागि परेको छ भने ४ सदस्य जितेको एमाले यसपटक वडाध्यक्ष आफुले जित्ने दाबी गर्छ ।
यता केन्द्रिय पार्टी कार्यालय समेत रहेको वडा भएकाले वडाध्यक्षमा उम्मेदवारी दिएको रास्वपाले जितका लागि सम्पुर्ण शक्ति लगाएको छ । २१ हजार २५ मतदाता रहेको काठमाडौं १६ मा निर्वाचनको मिति नजिकिदैं गर्दा चुनावी माहोल पनि उतिनै तातेको छ ।
काठमाडौं महानगर पालिकाको १६ वडामा गत निर्वाचनमा नेकपा एमालेले ४ सदस्य जित्दा पनि वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द रिजालले बाजी मारे ।
१२ हजार ३ सय ८ मत खस्दा रिजालले ४ हजार १९ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचन जितेका थिए । रिजालको मुत्यू पछि रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले देवेन्द्र पाठकलाई उम्मेदवार बनाएर बिरासत जोगाउन लागि परेको छ । गत निर्वाचनमा भन्दा ३ सय २३ मतदाता थपिदाँ यहाँ मतदाता संख्या २१ हजार २५ पुगेको छ ।
अघिल्लो पटक वडाध्यक्षमा पराजित भएका लक्ष्मीरत्न तुलाधरलाई नै एमालेले यसपटक पनि उम्मेदवार बनाएको छ । अघिल्लोपटक तुलाधर ७ सय ९ मतले पराजित भएका थिए । प्राविधिक कारणले निर्वाचन हारेको दाबी गर्दै यसपटक जित निश्चित रहेको तुलाधर बताउँछन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले जसरी पनि निर्वाचन जित्ने बताईरहदाँ यो वडामा नेकपा एकिकृत समाजवादीबाट उम्मेदवार बनेका मिन बहादुर मानन्धर पनि निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छन् । कीर्तिपुरको मेयर र १ र ४ नम्बर वडामा माओवादी केन्द्रलाई सहयोग गरेको नेकपा एसलाई यहाँ भने माओवादी केन्द्रले समर्थन गरेको छ ।
त्यसैले माओवादीको र स्वतन्त्र मत समेत आफुलाई आउने भन्दै चुनावको नतिजा आफ्नै पक्षमा आउने उनको तर्क छ ।
कीर्तिपुरको कुनै पनि पदमा उम्मेदवार नउठाएको रास्वपाले काठमाडौँ १६ भने वडाध्यक्षमा उम्मेदवार उठाएको मात्रै छैन, जित्नका लागि सम्पुर्ण शक्ति लगाइरहेको छ । निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने गरि वडाको सबै घर घरमा पुगेर प्रतिक्रिया लिएको बताउँदै आफ्नो जित निश्चित भएको रास्वपा उम्मेदवारको दाबी छ ।
वडा अध्यक्षका लागि १९ जनाले यहाँ उम्मेदवारी दिएका थिए । तर एक जनाले नाम फिर्ता लिए भने अर्का एक स्वतन्त्र उम्मेदवार उठेका प्रकास पन्तले रास्वपाको उम्मेदवारलाई समर्थन गर्दे आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । दलगतबाट ८ जना उम्मेदवार मैदानमा रहदाँ अब ९ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । स्वतन्त्र उम्मेदवार उठेकाहरु पनि निर्वाचनको नतिजा आफ्नै पक्षमा आउने दाबी गर्छन् ।
सबै भन्दा ठुलो वडाको रुपमा रहेको यो वडामा पुरानो नेवार बस्ती र बसाईसराई गरेर आएका मतदाताको मिश्रण छ । १० वटा मतदान केन्द्र रहेको यहाँ निर्वाचनमा ४ हजार भन्दामाथि मत ल्याउने उम्मेदवार नै निर्वाचनमा विजयी हुने देखिएको छ ।