
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स– रे सेवा शुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा शुरु गर्न लागिएको महानगरले जनाएको छ ।
आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र विहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ । स्वास्थ्य विमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ ।
सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ । महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महावौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चावहिलको स्वास्थ्य प्रवर्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । यीमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् ।
नसर्ने रोग पहिचान गर्न जाँच
स्वास्थ्य विभागले नसर्ने खालका रोगको पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ । निदानात्मक स्वास्थ्य सेवाको प्रवर्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने, तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरपालिकाको योजना छ ।
विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गएको वैशाख महिनामा दृष्टि अन्तर्गत आँखा तथा वातावरण, ज्येष्ठ महिनामा मुख तथा नाक, कान घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कार्तिकमा स्वस्थकर खानापान तथा आरोग्य जीवन सचेतना महिनाका रुपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन् ।
त्यस्तै मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घ रोग, पुसमा श्वाशप्रश्वास तथा अन्य जटिल दीर्घ रोग, माघमा मादक पदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।
आर्थिक वर्ष २०७९÷०८० को संघीय स्वास्थ्य विभागको प्रतिवेदनले ७१ प्रतिशत मृत्यृ दरको कारण नसर्ने रोग हो भनेर देखाएको छ । यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य समस्या हुन् । व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत (आउट अफ पकेट एक्पेन्डिचर – ओओपि) खर्च गरिरहेको छ । समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकहरूको पहुँच सुनिश्चित गर्न र समुदायलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न विभिन्न पहलहरू अघि सारेको छ । निःशुल्क खोप कार्यक्रम, मातृशिशु स्वास्थ्य सेवा, वृद्धवृद्धा हेरचाह, र संक्रामक रोग नियन्त्रणजस्ता पहलहरूले नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउँदै आएका छन् ।