काठमाडौं । नेपालमा सुरक्षित गर्भपतनले मान्यता पाएको २२ वर्ष भइसकेको । तर अहिले पनि असुरक्षित गर्भपत गराउने महिलाको संख्या उलेख्नीय देखिन्छ ।
यसरी गर्भपतन गराउनेहरुमा २० वर्ष मुनिका साथै सिमान्तकृत समुदाय, दुर्गम क्षेत्रमा बस्ने महिलाहरु बढि देखिन्छन् । सुरक्षितको गर्भपतको पहुँचबाट बाहिर रहेको महिलाहरुमा स्वास्थ्य समस्या देखिने गरे पनि सामाजिक दृष्टिकोणका कारण असुरक्षित गर्भपतन गराउनेको सख्या भने बढ्दो छ ।
नेपालमा सन २००२ देखि गर्भपतन सेवा शुरु गर्ने निर्णय भएपनि सन् २००४ देखि मात्र कार्यान्वयनमा आएको थियो ।
कुनै पनि महिलाले अनिच्छित गर्भ भएको अवस्थामा कानुन अनुसार महिलाको मज्जुरीमा १२ हप्तासम्मको गर्भपतनलाई कानुनले खुल्ला गरेको छ । त्यस्तै जबरजस्ती करणी, हाडनाता करणीबाट गर्भ रहेको अवस्थामा भने १८ हप्तासम्म गर्भपतन गर्न सकिने प्रावधान छ ।
अनिच्छित गर्भपतन भएको अवस्थामा कानुनले नै सुरक्षित गर्भपतनलाई मान्यता दिएता पनि अहिले पनि महिलाहरु असुरक्षित गर्भपतन नै गरिरहेका छन् । हालै भएको एक अनुसन्धानमा पनि गर्भपतनका लागि कानुनी रुपमा सेवा पाउन योग्य धेरै महिलाहरु अझै पनि यो सेवा पाउनबाट बन्चित भइरहेको तथ्य सार्वजनिक भएको छ ।
नेपाल वातावरण, जनसंख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र र क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोद्वारा ५ वर्ष लगाएर गरिएको अनुसन्धानको निस्कर्षले यस्तो तथ्य सार्वजनिक गरेको हो ।
तथ्यांक अनुसार आर्थिक वर्षमा २०८०\०८१ मा १ लाख २ हजार ३ सय ५७ जना महिलाले गर्भ पतन गराएका थिए भने यो संख्या आर्थिक वर्ष २०७९\०८० मा ९३ हजार ४ सय ३६ रहेको थियो ।
गर्भपतनबाट बञ्चित हुनेको अवस्था केलाउँदा २५ वर्षभन्दा कम उमेरका, अविवाहित, बच्चा नभएका, घरबाहिर काम नगर्ने, आर्थिक अवस्था कमजोर भएका, र भ्रूणको लिंग पहिचान गरेर गर्भपतन गराउन खोज्ने महिलाहरू बढि देखिएका छन् ।
त्यसैगरी, गर्भपतन सम्बन्धी कानुनी प्रावधानको ज्ञान कम भएका वा नभएका महिलाहरू पनि गर्भपतन सेवाबाट बन्चित हुने गरेको देखिएको छ ।
यसरी विभिन्न कारणले सुरक्षित गर्भपतनको पहुँच नपाएका महिलाहरु असुरक्षित गर्भपत गर्न बाध्य बन्दा उनीहरुले विभिन्न खालको स्वास्थ्य समस्या झल्नु परेको विज्ञ औलाउछन् ।
नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यताको २२ वर्ष भइसक्दा पनि अहिले पनि विभिन्न कारणले लुकीछिपी रुपमा असुरक्षित तथा गैरकानूनी गर्भपतन गर्ने महिलाको संख्या बढी छ ।
नेपालमा हालै गरिएको अध्ययन अनुसार स्वास्थ्य संस्थाबाट गर्भपतनको सेवा नपाएका ६० प्रतिशत महिलाहरूले अन्य ठाउँबाट गर्भपतनको प्रयास गरेका थिए ।
जसमध्ये ३८ प्रतिशत महिलाहरूले असुरक्षित वा कानुनी मान्यता नपाएका संस्थाबाट गर्भपतनको प्रयास गरेको देखिन्छ ।
चिकित्सकहरुका अनुसार असुरक्षित गर्भपतनले पाठेघरमा विभिन्न समस्या आउने, बाँझोपन हुने र कतिपय स्थितिमा महिलाको ज्यानै जान सक्ने जाखिम समेत हुने गर्दछ । तर समाजमा अहिले पनि गर्भपनलाई लिएर हेर्ने दृष्टिकोणका कारण अझै पनि असुरक्षित गर्भपनको संख्या बढ्दो क्रममा भएको विज्ञ औलाउँछन् ।