News 24 Television
एमालेको कार्यक्रमस्थलबाट २ ट्रक फोहोर संकलन,  जरिवाना तिर्न आनाकानी

काठमाडौँ । यही मंसिर ७ गते सत्तारुढ दल नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको कथित जागरण सभाका कारण त्यहाँका सडकमा फालिएको फोहोर करिब २ ट्रक संकलन भएको छ । नारा–जुलुससहित सभा गर्दा सडकमा पानीका र मदिराका बोत्तल, पर्चा, पम्प्लेट लगायत फोहोर जथाभाबी फालेको पाइएको छ । सभा गरेर जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषण भएको भन्दै सोही दिन काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवानाको पत्र काटेको थियो । तर पत्र एमालेले बुझ्न मानेन । उल्टै आफूहरुले गरेको फोहोर आफ्ना कार्यकर्ताले सफा गरेको भन्दै एमाले नेताहरुले महानगर प्रमुख बालेन साहलाई ‘स्टन्टबाज’ भनेका थिए । उनीहरुले फोहोर नगरेको जिकिर गर्दै जरिवाना समेत नतिर्ने अडान लिएका छन् । तर उक्त क्षेत्रको फोहोर संकलनको जिम्मा पाएको ‘क्लिन काठमाडौँ वेस्ट मेनेजमेन्ट’ कम्पनीले एमालेको सभास्थलबाट भोलिपल्ट बिहानै २ ट्रक फोहोर संकलन गरेको बताएको छ ।

एमालेले महानगरको पत्र नबुझेर जरिवाना नतिर्ने भन्दै उल्टै बालेनलाई स्टन्टबाजी गरेको आरोप लगाइरहेका बेला फोहोर संकलक कम्पनीले नै एमालेको गल्ती औँल्याइदिएको छ । एमालेले कार्यक्रम सकेलगत्तै कार्यकर्ताहरुले फोहोर सफा गरेको दाबी गरेको छ । तर फोहोर संकलक कम्पनीले लेखेको पत्रमा भने राजनीतिक दलका झण्डा सहित २ ट्रक फोहोर उठेको स्पष्ट पारेको छ । एमालेले जरिवाना नतिर्ने अडान राखेपछि महानगरले फोहोर संकलन कम्पनीलाई मंसिर ८ गते दरबारमार्ग सडकबाट के कति फोहोर उठेको भन्नेबारे स्पष्टीकरण मागेपछि उक्त कम्पनीले बुधबार महानगरलाई उक्त जानकारीसहितको पत्र पठाएको हो ।

यसअघि आईतवार महानगरपालिकाको टोली जरिवाना पत्र बोकेर एमाले केन्द्रिय कार्यालय च्यासल पुगेको थियो । तर एमाले नेताहरुले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरे । शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला कमिटी काठमाडौं, ललितपुर र भक्तपुर भएकाले उनीहरुलाई नै पत्र बुझाउन आग्रह गरेको थियो । एमाले केन्द्रिय कार्यालय सचिव भीष्म अधिकारीले महानगरको पत्र बेठिक ठाउँमा आएको बताए । नेकपा एमाले केन्द्रिय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजक रहेका जिल्ला कार्यालयलाई नै चिठी बुझाउन उनले आग्रह गरे । साथै महानगर प्रुमख बालेनले स्टन्टबाजी गरेको भन्दै उनले आक्रोश समेत पोखे ।

Balen-Patra-1732716441.jpg


 

एमालेले जरिवाना पत्र नबुझेपछि महानगरपालिकाले हुलाकमार्फत उक्त पत्र पठाएको महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे बताउँछन् । नगर प्रहरी निरीक्षक लीलाराज गाछाको नामबाट पत्र जारी गरिएको थियो । एमालेले जरिवाना तिर्न आनाकानी गरेपछि महानगरले सोधेको पत्रको जवाफमा फोहोर संकलन कम्पनीले मंसिर ८ गते दरबारमार्ग क्षेत्रमा फोहरमैला व्यवस्थापनका लागि सधैझैँ बिहान ४ बजेदेखि सफाइकर्मी परिचालन गरिएको र सो क्रममा २ ट्रक फोहोर संकलन भएको स्पष्ट पारेको छ । उक्त पत्रमा दरबारमार्गको सडक क्षेत्रबाट मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, कागज, प्लास्टिकहरु, खानेकुराका अवशेष सहितको फोहोर संकलन गरिएको बताइएको छ । दरबारमार्ग चोकमा रहेको पूर्वराजा महेन्द्रको शालिकमा ८८४८ ब्रान्डका मदिराका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू समेत संकलन गरिएको उक्त पत्रमा उल्लेख छ । 

Clean-Kathmandu-Patra-1732716415.png


कम्पनीले उक्त फोहोर संकलनको साक्षी दरबारमार्ग ट्राफिक प्रहरी, गोल्डेन टिभीका पत्रकार तथा महानगर प्रहरी रहेको समेत जनाएको छ । उक्त क्षेत्रमा जडित सीसीटीभी क्यामेराहरूमा समेत फोहोर संकलन कार्यको अभिलेख सुरक्षित रहेको भन्दै क्लिन काठमाडौँ वेस्ट मेनेजमेन्टले एमालेको दाबीलाई चुनौती दिएको छ । एमालेले फोहोर आफैले सफाइ गरेको र मिडियामा बालेनले आफूविरुद्ध स्टन्टबाजी गरेको आरोप लगाएपछि उक्त कम्पनीले स्पष्टीकरण दिएको हो । यस आधारमा एमालेले गरेको फोहोर सडकमै रहेको ठहर्छ भने बालेनले काट्न लगाएको पत्र एमालेले नबुझ्नु गैरजिम्मेवारी ठहर्छ । एमालेले जरिवाना नतिर्ने बताए पनि जुनसुकै हालतमा जरिवाना उठाएर छाड्ने महानगरको अडान रहँदा यस विषयमा द्वन्द्व लम्बिने देखिएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update