News 24 Television
नेपाल वाङ्मय परिषदद्वारा नेपाल र भारतका ४ स्रष्टा सम्मानित हुँदै

काठमाडौँ । नेपाल वाङ्मय परिषदले हरेक वर्ष साहित्यिक क्षेत्रका प्रतिभा (स्रष्टा)हरूलाई सम्मानित गर्दै आएको छ । यसै क्रममा वि.सं. २०८० का लागि ४ जना स्रष्टालाई सम्मानित गर्ने भएको छ ।

परिषदको सचिवालयले गरेको निर्णयअनुसार वि.सं. २०८० का लागि नेपाल र भारतका गरी ४ जना स्रष्टालाई सम्मान प्रदान गर्ने घोषणा गरिएको छ । जसअनुसार नेपाली वाङ्मय साधना सम्मान पर्साका गोपाल अश्कलाई प्रदान गर्ने निर्णय भएको छ । भाषा आयोगका सदस्य समेत रहेका अश्क लेखक, सम्पादक तथा अनुवादक हुन् । उनको लेखन, सम्पादन तथा अनुवादमा नेपाली, भोजपुरी, हिन्दी, अंग्रेजी भाषाका गरी ६ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

यस्तै पद्मा–रामचन्द्र लघुकथा सम्मान बाराका लघुकथाकार एवं 'नवप्रज्ञापन' साहित्यिक पत्रिकाका सम्पादक नवराज रिजाललाई प्रदान गरिने भएको छ । साहित्यकार रिजालका चार दर्जन कृति प्रकाशित छन् ।

यसैगरी राधिका–गोपालदत्त लघुकथा सम्मान भारतको हरियाणा निवासी लघुकथाकार डा. रामनिवास मानवलाई प्रदान गरिने भएको छ । मनुमुक्त मेमोरियल ट्रष्टका अध्यक्ष समेत रहेका मानवका हिन्दी साहित्यमा करिब ६ दर्जन कृति प्रकाशित छन् ।

यस्तै, कर्मयोद्धा सृजना सम्मान बैतडीका कवि राजेन्द्र तारकिणीलाई प्रदान गरिने भएको छ । पत्रकारिता एवं कला क्षेत्रमा समेत सक्रिय तारकिणीका साहित्यतर्फ ४ वटा कृति, गैरसाहित्यतर्फ २ वटा कृति प्रकाशित छन् भने उनको सम्पादनमा केही अन्य समेत प्रकाशित छन् । 

सबै सम्मान/पुरस्कारको राशी नगद १० हजार रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला रहेको छ । केही समयपछि काठमाडौँमा एक कार्यक्रम आयोजना गरी उल्लिखित सम्मान प्रदान गरिने परिषदका अध्यक्ष डा. पुष्करराज भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update