News 24 Television
पदभार ग्रहण गर्दै सेबोनका अध्यक्ष श्रेष्ठले भने- 'नयाँ स्टक एक्सचेन्ज चाँडै अगाडि बढाउँछु'

काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधवार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नयाँ स्टक एक्सचेन्जका धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए । उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको बताए ।

धितोपत्र बोर्डको अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरु रहेको उनले बताए । पुँजीबजारमा रहेका समस्या अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने उनकाे दाबी छ ।

अध्यक्ष श्रेष्ठले पुँजीबजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्ने समेत बताए । उनले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोशिस गर्ने उनकाे भनाइ छ ।

उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्ष बिहिन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारी सम्हाल्न आइपुगेको छु । बोर्डमा ठूलो जिम्मेवारीका साथ आएको छु । चुनौतीहरु धेरै छ । नेतृत्वको अभावमा अड्किएका कामहरु त्यत्तिकै छन् । मैले विशेष गरेर पुँजीबजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्छ । लगानीकर्ताहरुको सुरक्षा पहिलो प्राथमिकता हो । पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । त्यसको हामीले सदुपयोग गर्न सकिरहेका छैनौं । पुँजीबजारलाई अत्याधिक रुपमा प्रयोग गर्नसक्छौं । यी नै विषयलाई प्राथमिकताका साथ काम गर्ने उद्देश्यले जिम्मेवारीमा आएको छु । नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु । नेपाल सरकारको नीति निर्देशन जे हुन्छ । त्यहीअनुसार अगाडि बढ्ने हो । धेरै विषयहरु अगाडि बढेको स्थिति छ । सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ । अब सरकारको के निर्देशन आउँछ । त्यही अनुरुप अगाडि बढ्ने हो । आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तु स्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ ।’

उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताए । आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि उनकाे दाबी छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update