News 24 Television
श्रेष्ठलाई धितोपत्र बोर्डमा पु¥याउनेहरु को को ? 

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगाउदै आएको आरोप पुष्टी भएको दाबी गरेको छ । 

धितोपत्रको अध्यक्ष नियुक्तिमा एमालेसँग कुरा नमिल्दा सरकार ढालेको दाबी गर्ने माओवादीले भनेजस्तै अध्यक्ष नियुक्ति भएको हो त ? 

सरकारले २०८० पुस २० गतेदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । 

लामो समयदेखि अध्यक्ष नियुक्तिमा देखिएको विलम्बलाई सरकारले अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेसँगै अध्यक्षको पदपुर्ति भएपनि विवाद भने बल्झिएको छ । तर, मन्त्रिपरिषद् बैठकले भने श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिसकेको छ । 

सरकारले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने विषय राजनीतिक विषय बनिसकेको देखिन्छ । माओवादी केन्द्रले यसअघि नै धितोपत्र बोर्डको अध्यक्षमा एमालेले भनेको मान्छे नियुक्त नगर्दा सरकार ढालिएको र विचौलिया र दलालको बिगबिगी ह्वात्तै बढेको आरोप लगाएको थियो । 

यस्तोमा माओवादीका उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री वर्षमान पुनले सार्वजनिक रुपमै दोरम्बा सम्पर्क मञ्चले गएको साउन २९ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा धितो पत्र बोर्डको अध्यक्ष नियुक्तिमा एमालेले भनेको मान्छे नियुक्त गर्न नमान्दा सरकार ढालिएको आरोप लगाएका थिए । 

त्यसपछि पनि उनले निरन्तर रुपमा सरकार ढाल्ने काम विचौलियाले गरेको आरोप लगाउदै आएका थिए । माफियाले सरकार बनाउने र ढाल्ने सामथ्र्य राख्न थालेको दाबी गर्दै कांग्रेस–एमालेको गठबन्धनमाथि प्रश्न गरिरहेको माओवादी केन्द्रले सरकार बन्नुको आधार नै दलाल, पुजिँपति र विचौलिया नै भएको आरोप लगाइरहेको छ । 

यतिमात्रै नभई माओवादी केन्द्रले सत्ता गठबन्धन टुट्नुको कारण धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादका कारण हो भन्दै संसदमै प्रश्न गरेको देखिन्छ । 

यसरी प्रतिपक्षले आरोप लगाइरहँदा सरकारले भने लामो समयदेखिको रिक्तता पुरा गरेको छ । तर, यो विवाद लामो समयसम्म अड्किनुमा भने ठूला दल नेपाली कांग्रेस र एमालेको स्वार्थ मिल्नुमा नै देखिन्छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सन्तोषनारायण श्रेष्ठलाई नै अध्यक्ष बनाउन चाहन्थे । त्यो नहुँदा मुक्ति श्रेष्ठको नाममा उनीहरुको रूची थियो । तर, तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले यी काम गर्न नमान्दा अध्यक्ष लामो समय रिक्त बन्न पुग्यो भने अन्ततः सत्ता गठनबन्धन फेरिएसँगै सन्तोष अध्यक्ष बन्न सफल भएका छन् । 

को हुन् श्रेष्ठ ?

बोर्डको अध्यक्ष नियुक्त भएका श्रेष्ठले काठमाडौँ विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेका छन्। श्रेष्ठ यसअघि स्वाभिमान लघुवित्त वित्तीय संस्थामा अध्यक्ष र तत्कालीन नेपाल एक्सप्रेस फाइनान्सका अध्यक्ष थिए । 

उनले दुई संस्थामा डेढ दशकभन्दा बढी अध्यक्षको रुपमा कार्यभार सम्हालिसकेका छन् । विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यमा उनको तीन वर्षको अनुभव छ । 

यसबाहेक उनी व्यवस्थापन संघ नेपाल (म्यान)को आजीवन सदस्य, रुपन्देही चेम्बर अफ कमर्सका कार्यकारी सदस्य रहिसकेका छन् । 

श्रेष्ठ व्यवसायी दीपक भट्ट निकट मानिन्छन् । नेपालमा जलविद्युत् आयोजना निर्माणमा संग्लन चिनियाँ कम्पनी चाइना कचौपा ग्रुप कर्पोरेशनको स्थानीय एजेन्ट भट्टका तर्फबाट श्रेष्ठले ऊर्जा मन्त्रालयमा हुने बैठकहरूमा समेत सहभागिता जनाउने गरेको बताइन्छ ।

दीपक भट्टको कनेक्सन कहाँसम्म ?

सन्तोषनारायण श्रेष्ठ विचौलिया दीपक भट्टले अघि सारेका व्यक्ति हुन् । दीपक भट्ट एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकटमा मानिस हुन् । भट्ट शक्तिशाली विचौलिया हुन् । 

उनले चाहेका व्यक्तिलाई नियुक्ति दिलाउन शक्तिको प्रयोग गर्दै आएका छन् । शक्तिको आडमा एकपछि अर्को गर्दै व्यापारिक साम्राज्य फैलाइरहेका भट्टका केहि विवादीत घटनाहरु छन्, जुन चर्चित पनि छन् । ती घटना यस्ता छन् ।

 हिमालय पुनर्बीमा लाइसेन्स प्रकरण

 नयाँ स्टक एक्सचेन्ज लाइसेन्स प्रकरण

हतियार खरिद प्रकरण प्रकरण

 जगदम्बा स्टिलसँगै विवादास्पद सम्बन्ध प्रकरण

ऊर्जामन्त्री राधा ज्ञवाली बर्खास्त प्रकरण

हाइड्रोमा हालीमुहाली प्रकरण

बुढी गण्डकी ठेक्का प्रकरण

सोलु कोरिडोर प्रकरण

सम्पत्ति शुद्धिकरण प्रकरण

यतिमात्रै नभई भट्ट अर्थमन्त्री विष्णु पौडेलका खास विश्वासपात्र भएको समेत दाबी गरिन्छ । उनले सरकारका उच्च तहका बैठकमा समेत सहबागीता जनाउने हल्ला चल्ने गरेको छ । भने अब बोर्ड अध्यक्षमा सन्तोषनारायणलाई नियुक्त गरेसँगै नयाँ स्टक एक्सचेन्जको प्रक्रिया थालिनेछ । 

उनी स्टक एक्सचेन्ज हातमा लिएर व्यापारिक साम्राज्यलाई थप फैलाउने काममा जुटेका छन् भने अर्थमन्त्रालयमा व्यापारीहरुका विवाद मिलाउने जिम्मा समेत भट्टले नै लिने गरेको आरोप लाग्ने गरेको छ । 

तत्कालीन नेकपामा पनि भट्ट दाजुभाईकै रजाईं

दीपक भट्ट र शुशिल भट्टले तत्कालीन नेकपा र नेकपा नबन्दै केपी ओली र प्रचण्डलाई मिलाउने जिम्मा नै लिने गरेको बताइन्छ । 

दीपकले नेताहरुलाई फोन गरेर जिम्मेवारी समेत बाँड्ने गरेको र त्यसमा अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका उपमहासचिव रहेका जनार्दन शर्माले पनि साथ दिने गरेको बताइन्थ्यो । 

उनीहरु शक्तिशाली विचौलिया भएकै आधारमा शुशिल भट्ट लगानी बोर्डको अध्यक्ष नै बन्न सफल भएका थिए । तत्कालीन नेकपामा सरकारको जिम्मा लिने विषयमा ओली र प्रचण्डलाई कार्यकाल तोक्ने विषयमा समेत भट्ट दाजुभाईले सक्रिय भूमिका निर्वाह गर्ने गरेको र त्यसको साक्षीहरु पौडेल र शर्मा रहने गरेको हल्ला चल्ने गथ्र्यो । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update