काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिएका छन् । मंगलवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
श्रेष्ठलाई सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथ ग्रहण गर्दै श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने बताए । उनले नेपाली पुँजीबजारमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुग्ने गरी लगानीकर्ताको हितमा काम गर्ने बताए ।
बोर्डमा चुनौतीहरु धेरै रहेको भन्दै ती चुनौतीलाई अवसरको रुपमा लिएर नेपाली पुँजीबजारलाई नयाँ उचाईमा पुर्याउने उनकाे प्रतिबद्धता छ । उनले पुँजीबजार विस्तार गर्न अवसरहरु धेरै रहेको भन्दै नेपाली पुँजीबजार पूर्णरुपमा सदुपयोग नभएको बताए । उनले पुँजीबजारको दायरा बढाउन सकिने अवस्था रहेको समेत बताए ।
त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखि नियुक्त हुन नसकेको बोर्ड अध्यक्षमा खुला प्रतिष्पर्धाको माध्यमबाट अध्यक्ष छनोट गरेको बताए । उनले अध्यक्षबाट नेपाली पुँजीबजारको क्षेत्रमा रहेका समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्ने अपेक्षा रहेको समेत बताए ।
धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो ।