News 24 Television
एनपीएलको उत्साह : क्रिकेटमा व्यवसाय, पर्यटनमा टेवा  

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आगामी मंसिर १५ गतेदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । एनपीएलका लागि विभिन्न ८ टिमबीच खेल हुँदैछ । एनपीएलका लागि सबै टिमको छुट्टाछुटै तयारी गरिएको छ । भारतमा चर्चित आईपीएल जस्तै नेपालमा पनि क्रिकेटमय बनाउने अपेक्षा गरिएको एनपीएलको ट्रफी सोमवार अनावरण गरिएको छ । 

आगामी मंसिर १५ गतेदेखि काठमाडौंस्थित कीर्तिपुर मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) शुरु हुँदैछ । आगामी पुस ६ गतेसम्म हुने एनपीएलका लागि काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तयारी अवस्थामा छन् । ठाउँ विशेषको पहिचान झल्काउने गरी सबै टिमले आ–आफ्नै प्रोमो तयारी गरिसकेका छन् । 

राष्ट्रिय खेलाडीहरु विभिन्न टिममा मार्की खेलाडीका रुपमा छानिएका छन् । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्टस् भिड्दैछन् । पहिलो संस्करणका रुपमा रहेको एनपीएलले क्रिकेटप्रति आशातित बनेको नेपाललाई ऊर्जामय बनाउने अपेक्षा गरिएको छ । प्रतियोगिता शुरु हुन भन्दा केही दिनअघि सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावनरण गरेका छन् ।  एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्दै पर्यटनमा सहयोग पुर्याउने समेत आशा राखिएको छ । 

नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिताको रुपमा पनि एनपीएललाई लिइएको छ । खेल शारीरिक स्वास्थ्यका लागि मात्र नभई एउटा उद्यमको रुपमा समेत हेर्न थालिएको छ । 

पछिल्लो समय नेपाली खेलाडीहरुले क्रिकेटले नेपाललाई विश्वमै चिनाउन थालेका छन् । क्रिकेटप्रति आम नेपालीले पनि भरोसा गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पनि नेपाली टिमको प्रशंसा गर्दै क्रिकेट नेपाली युवाको सपना भएको बताएका छन् । उनले सबै खेलाडीहरुको निकै तारिफ गर्दै आगामी दिनमा महिला एनपीएलको आयोजना गर्नसमेत सुझाएका छन् । 

कालापत्थरबाट ल्याइएको ढुंगा जडित ट्रफीले पर्यटन प्रवद्र्धनमा बल पुर्याउने अपेक्षा गरिएको छ । पहिलो संस्करणको एनपीएल सञ्चालन गर्न लागिएसँगै कीर्तिपुर क्रिकेट मैदानको पनि स्तरउन्नति गरिएको छ ।एनपीएललाई निरन्तरता दिन सकिएमा यसले नयाँ नयाँ खेलाडीहरुको उत्पादन मात्रै गर्दैन, यसले नेपालको आर्थिक क्षेत्रमा पनि टेवा पु¥याउने निश्चित छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update