काठमाडौँ । मंसिर १६ गते कीर्तिपुरमा मेयर पदमा हुन लागेको उप–निर्वाचनमा दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन बिकाश, खानेपानी र सडक निर्माण लगायतका विकाश निर्माणका कुराहरुलाई आफ्नो एजेण्डामा समावेश गरेको पाईएको छ । सोमबार कीर्तिपुरस्थित बाघभैरव मन्दिरमा न्यूज २४ टेलिभिजनले गरेको उम्मेदवारहरुबीचको बहस कार्यक्रममा सबै उम्मेदवारको एजेण्डा करिब–करिब उस्तै देखिएको छ ।
न्यूज २४ टेलिभिजनको बहस कार्यक्रममा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कृष्णमान डंगोल, माओवादी केन्द्रबाट उम्मेदवार बनेका प्रा.डा. शिवशरण महर्जन, राप्रपाबाट उम्मेदवार बनेका ईन्जिनियर धुव्र महर्जन र स्वतन्त्र उम्मेदवार नवरथकुमार बानिया सहभागि थिए । दलका र स्वतन्त्र दुवै पक्षका उम्मेदवाहरुमा कीर्तिपुरको विकासका समान अवधारणा र एजेण्ड रहेको छ । उनीहरुले शिक्षा, स्वाथ्य, रोजगारी, पर्यटन विकाश, खानेपानी र सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् ।
डेढ घन्टा सम्म चलेको बहसमा सबै उम्मेदवारहरुले निर्वाचनमा आफुले जित्ने दाबी पेश गरे । नेपाली कांग्रेसका उम्मेदवारले कांग्रेसले विगतमा पनि जितेको र अहिले नगरपालिकामा कांग्रेसबाट निर्वाचित उम्मेदवारहरुले पनि राम्रो काम गरेकाले पनि आफुले जित्नेमा विश्वस्त देखिए । आफ्नो स्वच्छ सामाजिक छवि पनि निर्वाचन जित्ने बलियो अस्त्र भएको उनको तर्क छ ।
त्यसैगरी माओवादी केन्द्रबाट उम्मेदवार बनेका महर्जनले विगतमा आफ्नै पहलमा कीर्तिपुरमा यातायात सञ्चालन गर्ने, खानेपानी बनाउने र शिक्षा क्षेत्रको बिकाशमा उल्लेखनीय परिवर्तन गर्ने काम गरेको बताउँदै जनताले आफुलाई जिताउने उनको भनाई छ ।
राप्रपाबाट उम्मेदवार बनेका धुर्व महर्जनले आफु इजिनियर भएको र कीर्तिपुरको बिकाशका लागि आफुसँग मास्टर प्लान रहेको बताए । मैदानमा उत्रिएका उम्मेदवारहरुमध्ये सबै कोणबाट आफु अब्बल रहेको भन्दै यसपटक आफैले बाजी मार्ने जिकिर गरे ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार बनेका नवरथकुमार बानियाँले जनताहरु राजनीतिक दलसँग आजित भइसकेको दृष्टान्त दिदै यसपटक कीर्तिपुरमा आफ्नो पालो आएको दाबी गरे । विगतमा कीर्तिपुरमा आफुुले सार्वजनिक एम्बुलेन्स सञ्चालन गरेको, र विपद्का बेला पु¥याएको योगदानको मूल्यांकन गर्ने पालो आएको उनको भनाइ छ ।
बहसमा स्थानीयहरुले पनि नगर प्रमुखमा उम्मेदवारी दिएकाहरु निर्वाचित भएपछि गर्ने काम र योजनाको बारेमा प्रश्न गरेका थिए । स्थानीयको प्रश्नमा उम्मेवारहरुले शालिन शैलीमा आ-आफ्नो एजेण्डा सहित जवाफ दिएका थिए ।