काठमाडाैँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई आगामी ४ वर्षका लागि धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । यससँगै करिब एक वर्षदेखि अध्यक्षविहीन रहेको बोर्डले नेतृत्व पाएको हो ।
यसअघि बोर्ड अध्यक्ष सिफारिस समितिले अन्तर्वार्तामार्फत तीन जनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो । जसमा सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस भएको थियो ।
बोर्डको अध्यक्षमा नियुक्त भएका श्रेष्ठले काठमाडौँ विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेका छन् । उनीसँग विगतमा नेपाल एक्स्प्रेस फाइनान्सका अध्यक्ष तथा स्वाभिमान लघुवित्त वित्तीय संस्थामा अध्यक्ष भएर काम गरेको अनुभव छ ।