News 24 Television
नेपालमा विदेशी कामदार पसेपछि रोजगारी क्षेत्रमा समस्या

काठमाडाैँ । नेपाली श्रम बजारमा विदेशी कामदार पसेपछि रोजगारी क्षेत्रमा समस्या आएको ट्रेड युनियनहरुले बताएका छन् । सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेश गर्दा नेपाली श्रमबजार जटिल अवस्थामा पुगेको उनीहरूकाे दाबी छ । ट्रेड युनियनहरुले नेपाली श्रमबजार अनौपचारिकतातिर जाँदा श्रम बजारमा विविध खालका समस्याहरु उत्पन्न भएको कारण श्रम बजार कमजोर हुँदै गएको बताए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष योगेन्द्रकुमार कुँवरले पछिल्लो समय बाहिरबाट मजदुरहरु ल्याउने कारणले गर्दा रोजगारी क्षेत्रमा समस्या आएको बताए । उनले नेपाली श्रम बजार अनौपचारिकीकरण हुँदै गएको पनि बताए ।

पछिल्लो श्रम बजारमा देखिएका समस्याका कारण ट्रेड युनियनहरुको लागि डरलाग्दो परिस्थिति बनेको उनकाे भनाइ छ । श्रम ऐनमा भएका व्यवस्थाहरुलाई गलत व्याख्या गरेर रोजगारदाताहरुले करार गर्दा पनि सरकार मुकदर्शक भएर बस्ने काम गरेको आरोप लगाउँदै उनले ट्रेड युनियनको उपस्थिति पनि कमजोर बन्दै गएको बताए । 

अध्यक्ष कुँवरले भने, ‘पछिल्लो समय बाहिरबाट मजदुरहरु ल्याउने कारणले गर्दा रोजगार क्षेत्रमा समस्या आएको छ । नेपाली श्रम बजार अनौपचारिकरण हुँदै गएको छ । श्रम बजारमा विविध खालका समस्याहरु देखापरेका कारण श्रम बजार कमजोर हुँदै गएको छ । पछिल्लो समय ट्रेड युनियनहरुको लागि डरलाग्दो परिस्थिति बनेको छ । श्रम ऐनमा भएका व्यवस्थाहरुलाई गलत ब्याख्या गरेर रोजगारदाताहरुले करार गर्दा पनि सरकार मुकदर्शक भएर बस्ने काम गरेको छ । त्यसले झन जटिल बन्ने अवस्था छ । ट्रेड युनियनको उपस्थिति पनि कमजोर बन्दै गएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएको छ । विश्वको नेतृत्व विगहाउसहरु र कम्पनीहरुले नियन्त्रणमा लिँदै गइरहेको छ । सरकार ठूला रोजगारदाताहरुको चंगुलमा छ । त्यो अवस्थामा ट्रेड युनियनको अडानलाई शो गर्न सकेका छैनौ । थप कमजोर बन्दै गएका छौं ।’

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा ट्रेड युनियन आन्दोलन अहिलेसम्म मजदुरको पक्षमा भएका कामले सकारात्मक रुपमा अगाडि बढेको बताए । उनले ट्रेड युनियन आन्दोलनबाट श्रमिकवर्गको हक-हित र सामाजिक सुरक्षा क्षेत्रमा सकारात्मक सुधार गरेको बताए । उनले ट्रेड युनियन आन्दोलनबाट भएका उपलब्धिहरु सकारात्मक रहेको बताउँदै सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने अपेक्षा रहेको बताए । 

अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा ट्रेड युनियन आन्दोलन अहिलेसम्म मजदुरको पक्षमा भएका कामले सकारात्मक रुपमा अगाडी बढेको छ ।  ट्रेड युनियन आन्दोलनबाट केही गर्न सकेनौं भन्ने अवस्था छैन । सकारात्मक दिशामा सोच्नुपर्छ । सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने अपेक्षा छ । सामाजिक सुरक्षा कोषमा मन्त्री परिवर्तन हुँदा कर्मचारी र सञ्चालक परिवर्तन हुने व्यवस्था राख्न हुँदैन भन्ने माग हो । ट्रेड युनियनहरुलाई इगनोर गरिन्छ भने त्यसलाई पनि चल्न नदिने खालको आन्दोलन गर्न तयार छौं ।’  

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update