News 24 Television
चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भमणमा ऋणसम्बन्धि कुनैपनि सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्व-परराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पारेका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले चीनसँग कुनै पनि खालको ऋण सम्झौता नगर्ने आशयको अभिव्यक्ति दिएको काँग्रेस नेता समेत रहेका पूर्व-परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताए । उनले प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा आफनो भ्रमण केन्द्रित हुने पनि उल्लेख गरे । 

साउदले भने, ‘प्रधानमन्त्रीले आसन्न चीन भ्रमणमा केन्द्रीत रहेर सुझावहरु माग्नुभयो । जसमा दुई देशबीचको परम्परागत सम्बन्ध सुमधुर रहँदै आएको अगामि दिनमा त्यसलाई थप मजबुत बनाउने बारेमा छलफल गर्नुभयो । बिआरआई लगायत अन्य कुराहरु पनि छलफलका एजेण्डाहरु बने । ती विषयमा पनि छलफल भयो । उहाँले ऋणको बारेमा मौन रहेर अनुदानको रुपमा अगाडि बढाउने कुरा उहाँको अभिव्यक्तिबाट बुझेँ । चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने उहाँको आशय थियो । त्यस्तै, विभिन्न प्रोजेक्टहरुलाई अगाडि बढाउनेबारे छलफल हुने समेत उहाँले छलफलका क्रममा जानकारी दिनुभएको छ । ’

छलफलमा नेपाल र चीनबीच भएका पुराना सम्झौता तथा समझदारीहरुलाई कार्यन्वयन गर्ने विषयमा पनि छलफल भएको उनले बताए । विशेष गरेर किमाथान्का प्रोजेक्ट र ट्रान्समिसन लाइन निर्माणको सम्भावनाबारे प्रधानमन्त्रीले छलफलका क्रममा चासाे राखेका थिए । 

 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update