ललितपुर । ललितपुरको थती टोलमा शनिबार आयोजित एक कार्यक्रमका बीच युनाइटेड क्लबको औपचारिक उद्घाटन गरिएको छ।
वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले क्लबको उद्घाटन गर्दै समाजलाई एकतामा बाँध्न र युवामा जागरण फैलाउन क्लबको महत्वपूर्ण भूमिका रहने बताएका छन।
मन्त्री महर्जनले भने, ‘समाजमा आइपर्ने समस्याहरूलाई समाधान गर्न र सक्षम युवा नेतृत्व तयार गर्न क्लब आजको आवश्यकता हो।’
उनले क्लबले सामाजिक, खेलकुद र शैक्षिक गतिविधिमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।कार्यक्रममा क्लबका अध्यक्ष पवन शाहीको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ।
अध्यक्ष शाहीले क्लबले थाती टोलका युवाहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै समाजसेवाका विभिन्न क्रियाकलापहरूलाई प्राथमिकता दिने बताए।
क्लबको उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै युवाहरूलाई सक्षम बनाउँदै भविष्यका लागि सशक्त नेतृत्व तयार गर्नु रहेको छ। उद्घाटन कार्यक्रममा स्थानीय नेता, समाजसेवी र युवा समूहको उल्लेखनीय उपस्थिति थियो।
युनाइटेड क्लबले आगामी दिनमा सामाजिक, सांस्कृतिक, र खेलकुद गतिविधिहरूलाई प्राथमिकता दिँदै क्षेत्रको विकासमा योगदान पुर्याउने उदेश्य लिएको क्लबकी कोषाध्यक्ष पृथविन्दु महर्जनले जानकारी गराएकी छिन।