काठमाडौं । उपचुनावका लागि दल र उम्मेदवारहरु चुनावी मैदानमा मत मागिरहेका छन् । तर, गएको चुनावमा उभार ल्याएर राजनीतिक तरङ्ग पैदा गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने उपचुनावमा मौनप्राय देखिन्छ ।
पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेको बेला रास्वपाका नेताहरुले किन उपचुनावलाई उपयोग गर्ने तरिका अपनाउन सकेनन ?
गएको चुनावमा जबरजस्त मत ल्याएपछि राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी उपचुनावमा सुनसान छ । रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दामा प्रहरीले अनुसन्धान गरिरहँदा रास्वपाका नेताहरु उपचुनावमा खुलेर लाग्नै सकेनन् ।
अधिकांश स्थानमा उम्मेदवार नै नभेट्टाएको रास्वपाले उम्मेदवार उठाएको क्षेत्रमा समेत प्रचारलाई तीब्रता दिन सकेको छैन् । विभिन्न क्षेत्रमा उम्मेदवार मैदानमा पठाएपनि रास्वपाका नेताहरु किन गुपचुप ?
सोधिखोजी हुन थालेको छ । तर, सत्ताको नेतृत्व गरेको नेकपा एमाले भने रास्वपामाथि विभिन्न आरोप लगाएर धुलिसात पार्ने काममा देखिन्छ ।
प्रधानमन्त्री केपी ओलीले जागरणसभाको आयोजना गरेर रास्वपामाथि ठगीको आरोप लगाएका छन् । सहकारी ठगी गरेर अरुलाई गाली गर्ने भन्दै क्रोध पोखेका छन् ।
ओलीले यस्तो भन्नुको कारण हो, प्रहरी अनुसन्धानको दायरामा पुगेपछि रास्वपा सभापति रवि लामिछानेले लगाएको गम्भीर आरोप । रविले ओलीलाई मुलुकमै ठूलो भ्रष्टाचारीको आरोप लगाएका थिए ।
रास्वपाले ओलीमाथि पोखिरहेका आक्रोश र एमालेले संगठित रुपमै गर्न थालेको प्रतिवाद रोचक मोडमा पुग्दै गर्दा उपचुनावको मुखैमा रास्वपा हराएको जस्तो देखिन थालेको छ । रास्वपाभित्र विवाद पनि उत्तिकै झांगिन थालेको छ ।
उपसभापतिद्धय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालबीच नेतृत्वको लडाई चलिरहेको छ । यहि स्थितिलाई पार लगाउन डीपीले रवि जिउदो हुन्जेल सभापति उनै हुने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।
यसरी रास्वपाको आन्तरिक राजनीति तहसनहसको स्थितिमा पुग्दा समेत कार्यबाहक सभापतिको जिम्मेवारी नदिई रविले आफ्नो पक्षमा आन्दोलन गर्न गरिरहेको अपिल समेत कुनामा थन्क्याउन थालिएको छ ।
उपचुनावलाई लिएर आन्दोलन फिर्ता गरिएको भनेको रास्वपा अहिले उपचुनावको प्रचारमा देखिने गरि कतै पाइन्न । यसरी रविबिनाको रास्वपा टुहुरोजस्तो मात्रै देखिएको छैन्, विघटनको दिशामा पुगेको त होइन भन्ने स्थितिमा पुगेको बताउन थालिएको छ ।
रविलाई तनाव
रवि लामिछाने लगाएतलाई कास्की जिल्ला अदालतले आइतबार थप १५ दिनको म्याद थप गरेको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धि अपराधमा अनुसन्धान गर्नुपर्ने भएकाले विभिन्न चार कारण औल्याउदै म्याद थपिएको छ । ती कारणहरु यस्ता छन्
१. केहि प्रतिवादीको बयान लिन बाँकी रहेको
२. थप प्रमाण भेटिएका कारण पुरक बयान लिनुपर्ने स्थिति सिर्जना भएको
३. घरजग्गा खरिद बिक्रीसम्बन्धि लिखत प्राप्त नभइसकेको
४. कल डिटेल तथा मोबाइल परीक्षण प्रतिवेदन उपलब्ध नभइसकेको
यस्ता कारण देखाएर अदालतले म्याद थप गरेको छ । जसमा रवि लामिछानेले बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीलाई चेक काटेर दिएको प्रमाण प्रहरीले फेला पारेको दाबी गरिएको छ । तर, रविले चेक काटेको विषयमा इन्कारी बयान दिदै आफूले यस्तो नगरेको तर, ड्रयरमा रहेको खाली चेकमा कसैले लेखेर दिएको हुनसक्ने जवाफ दिएको बताइन्छ ।
यस्तो स्थितिले पनि प्रहरीले अनुसन्धानलाई प्रमाण संकलनको नजिकमा पु¥याएको दाबी गरिरहेको छ । यसरी राज्यले रविमाथि अनुसन्धानको दायरा फराकिलो बनाउदै अभियोजनको तयारी गरेपछि रविविरुद्ध हुने थुनछेक बहसमा पूर्पक्षका लागि थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटी लिएर छाड्ने भन्ने निर्णय समेत प्रभावित हुने भएकाले रविलाई थप तनाव भएको बताइन्छ ।