News 24 Television
रविको फेरि म्याद थपियो, अनुसन्धान झन कसिलो हुँदै 

कास्की । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति सुद्दिकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । 

कात्तिक २ गते काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लमिछानेलाई आइतबार कास्की अदालतले पाँचौं पटक अनुसन्धानका लागि म्याद थप गरेको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की अदालतमा ल्याइने दिन रास्वपाका समर्थकहरूले प्रदर्शन र आन्दोलन गर्ने गर्थे । तर आइतबार भने सडक र अदालत वरिपरिको परिसर सुनसान नै थियो ।

यता सहकारी पीडितहरू पनि देखिएका थिएनन् । सुरक्षा व्यवस्था कडा पारिएको थियो भने छिटपुट रुपमा मात्र रास्वपाका समर्थकहरू अदालत वरिपरिको परिसरमा देखिन्थे । 

सहकारीको रिसले रवि लामिछानेले पैसा खायो भनेर अन्य दलहरुले राजनीतिक खेल खेलेको रास्वपा समर्थकको आरोप छ । दोषी भए कारबाही हुने पर्ने जिकिर गर्दै विना कारण रविलाई दुःख दिन नहुने मीठुदेजी अधिकारी बताउँछिन् । 

संसदीय विशेष छनाबिन समितिको प्रतिबेदनको आधारमा पक्राउ परेका लामिछानेलाई कास्कीमा अनुसन्धान भइरहेकै अवस्थामा सुप्रिम सहकारीको  रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला सरकारी वकिलको कार्यलयमा बयान समेत लिइसकेको छ । 

रविविरुद्ध चितवन र काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौँको कालीमाटिस्थित स्वर्ण बहुउद्देशीय सहकारी संस्था र चितवनको सहारा चितवन सहकारीको  रकम हिनामिनामा रविविरुद्ध पक्राउ पुजी जारी भएको हो । 

रविलाई जस्तै अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका पुर्व ब्यापारीक साझेदार छबि बण्जाडे जोसीको पनि बुटवल र काठमाडौमा बयान लिइ कास्की प्रहरीको हिरासतमा छन् । 

बयानका लागि रविलाई पनि काठमाडौँ ल्याउने प्रहरीको तयारी छ । सहकारी ठगीमा सरकारले अहिले सम्म ६ सय जना गिरफ्तार गरि अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update