काठमाडौं । मनाङ मस्र्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाका लागि बित्तिय व्यवस्थापन भएसँगै निर्माण कार्य पनि प्रारम्भ भएको छ ।
गत महिना चीनको एक्जिम बैंकसँग आयोजनाको लगानीका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जिम बैंकले १ अर्ब २४ करोड २५ लाख रुपैयाँ चिनियाँ युआन अर्थात १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ ।
आयोजनाका लागि ऋण निश्चित भएपछि निर्माण कार्य पनि शुरु भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाका लागि बाँकी ऋण अन्य श्रोतहरुबाट जुटाइएको छ ।
आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ । यो आयोजनामा बुटवल पावर कम्पनीसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइइसी इन्टरनेशनल कम्पनी लिमिटेड र ती कम्पनीहरूको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनीको लगानी छ ।
आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण सोही नर्थवेष्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको विज्ञप्तिमा जनाइएको छ । आयोजना निर्धारित कार्ययोजनाअनुरूप ४२ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
ऋण तथा स्वःपुँजी लगानीको अनुपात ८०ः२० रहेको कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनी र ८० प्रतिशत चिनियाँ लगानी हुनेछ ।
कम्पनीले आयोजनास्थल वरपरका स्थानीय बासिन्दालाई प्रचलित कानूनको अधिनमा रहेर सेयर उपलब्ध गराउनेछ । अर्धजलाशययुक्त यो परियोजना मनाङको चामे र नासो गाउँपालिकामा पर्दछ ।
क्यास्केड अवधारणामा नजिकै निर्माणाधीन तीन जलविद्युत आयोजनाहरूमध्ये यो पहिलो हो । मनाङ र लमजुङ्गमा रहेका अन्य दुई आयोजनाहरूमा एक हजार ३९२ मेगावाट क्षमताको लोअर मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना र ३२७ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–२ जलविद्युत छन् ।
तीनवटै आयोजनाको कूल जडित क्षमता ६०१.२ मेगावाट र कूल लागत एक अर्ब २० करोड अमेरिकी डलर अनुमान गरिएको छ ।
कोभिड महामारी, जग्गा अधिग्रहण र रुख कटानमा देखिएको चुनौतीका साथै मस्र्याङ्दीमा तीन वर्षअघि आएको भीषण बाढीका बाबजुद आयोजना अघि बढेको कम्पनीले जनाएको छ ।