मकवानपुर । प्रदेश सरकारहरुको कमजोर कार्य सम्पादनका कारण पछिल्लो समय प्रदेश संरचनाप्रति नागरिकको निराशा बढ्दो छ । बजेट बनाउँदा अर्बौंको बजेट ल्याउने तर खर्चै नगर्ने प्रवृत्तिले प्रदेश संरचनामाथि नै प्रश्न उठाएको छ ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको चार महिनामा मुस्किलले ८ प्रतिशत पनि बजेट खर्च गर्न सकेको छैन । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा चालु आर्थिक बर्ष २०८१\८२ को पहिलो चौमासिकमा प्रदेश सरकारको कुल बजेटको ८ प्रतिशतभन्दा कम खर्च भएको छ । बजेट खर्चमा गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यसपटक बागमती कमजोर देखिएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँको कार्यक्रम र योजना कार्यान्वयन गर्न बजेट थियो । जसमा कात्तिक मसान्तसम्ममा कुल बजेटको ७.९३ प्रतिशत अर्थात् पाँच अर्ब ११ करोड ६९ लाख नौ हजार रुपियाँ मात्रै खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैँयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपैँयाँ रहेको छ ।
यता, प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारको खर्चको रफ्तार हेर्दा विकासको क्षेत्रमा सरकारले कुनै काम नै नगरेको दाबी गर्छ ।
बजेट बनाउँदा स्पष्ट कार्यदिशा तयार नगरी हचुवाको भरमा ल्याइएको बजेट कार्यान्वयन नहुँदा बजेट खर्चको पाटो नै फितलो हुन जाने अर्थविद् बताउँछन् । बजेट समयमै आए जसरी कार्यान्वयन पनि समयमै हुन जरुरी रहेको अर्थविद् यम सिलवाल बताउँछन् ।
त्यसोत, बागमतीको बजेट खर्च निराशाजनक भएपछि अर्थ मन्त्रालयले बजेट खर्च बढाउने उपायहरु सहितको छलफल अघि बढाएको मन्त्री काप्mले दाबी गर्छन् । दोस्रो चौमासिकमा खर्चको दायरा बढ्ने उनको भनाइ छ ।
गत वर्षको आर्थिक वर्षको पहिलो चौमासिकमा पनि बागमतीको बजेट खर्च ९ प्रतिशतमात्रै थियो । बजेट खर्च कम हुनुमा विविध कारण रहेको भन्दै सरकारले बचाउ गरेको छ ।