News 24 Television
सामाजिक सञ्जालमा उफ्रिनेको ‘हाईहाई’ समाज ‘रियाक्टिभ फोर्स’ बन्द

काठमाडौं । सरकार अराजकताको अन्त्य गरेरै छाड्ने दाबी गरिरहेको छ । तर, सरकार आफै सडकमा उत्रिएर आक्रोश र आवेगको राजनीति गर्दै आफूबाहेकलाई दुत्कार्छ ।

यसरी नै समाज पनि सकारात्मक भन्दा नकारात्मक र लान्छनामा रमाउन अभ्यस्त भइसकेको छ । यस्तोमा पछिल्ला समय देखिएका केहि घटनाले मुलुकमा थप अराजकता निम्तिने खतरा थप बढेको छ । 

गाली र चर्को स्वरमा कसैलाई हकार्दा नेपालीहरु औधी खुशी हुने गरेका छन् । सभ्य भाषाको प्रयोगमा भन्दा कसैले कसैलाई दुत्कार्ने र हप्काउने गर्दा मानिसहरु प्रफुल्लित बनिरहेका छन् । 

सामाजिक सञ्जालहरुमा छिरेर कोही चर्को स्वरमा कसैको निन्दा वा गालीगलौच गर्दैछ भने, समाज उसैको हाईहाई गर्दै हिरोको उपमा भिराउन बानी परिसकेको छ । हुन त यस्तो संस्कारको विकास राजनीतिज्ञले नै गरेका थिए र अहिले पनि यसलाई मलजल गर्नमा उनीहरुले प्रमुख भूमिका खेल्ने गरेका छन् । 

कुनैबेला अहिलेका प्रधानमन्त्री केपी ओलीले अत्यन्तै तल झरेर गाली गर्ने गर्थे । सार्वजनिक मञ्चबाटै ओलीले केहि पहिले मात्रै पनि माधव नेपालको नाम नलिई थुक्छु भन्नेजस्ता शब्दको प्रयोग गरेका थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि समेत तल्लोस्तरको टिप्पणी गरेका थिए । 

यस्ता टिप्पणी गर्नेमा ओली अग्रपंक्तिमा नै छन् । ओलीमात्रै नभई प्रचण्ड पनि यस्ता अराजक टिप्पणीका लागि कहलिएका छन् । प्रचण्डले पनि आफ्नो बोलीमा लगाम लगाएको देखिन्न । आफूलाई भावुक भएको जिकिर गर्ने प्रचण्ड आफ्नो मर्यादाको समेत ख्याल राख्दैनन् । आवेशमा आएर उनी जे पनि बोलिदिन्छन् ।

हालसालै पनि प्रचण्डले प्रधानमन्त्री ओलीले गर्न लागेको चीन भ्रमणको बारेमा पनि गैर कुटनीतिक अभिव्यक्ति दिए । यतिमात्रै नभई प्रचण्डले अनेक टिप्पणी गरेर राजनीतिक रुपमा विवाद समेत निम्त्याउने गरेका छन् । 

यसरी समाजलाई अराजकता र गालीमा स्वाद पसाउन भूमिका खेल्ने नेताहरु सभ्यताको कल्पना पनि गर्छन् । तर, समाज र सामाजिक चरित्र भने बिग्रिन थालिसकेको छ । 

दुर्गा प्रसाई र बालेन फ्याक्टर

ओली प्रचण्ड कै निगाहमा राजनीतिक फेरो समाएर शक्ति आर्जन गरेका दुर्गा प्रसाई अहिले ओली प्रचण्डका सामू भारी देखिन थालेका छन् । 

ओलीप्रति बढि आक्रामक देखिने प्रसाईले हिरासतमा पुगेपनि कम्बोडियाको टेलिकममा ओलीले लगानी गरेको कुरा सत्य भएको भन्दै लामो फेहरिस्त सामाजिक सञ्जालामर्फत सार्वजनिक गराएका छन् । 

बोली, अभिव्यक्ति र सभ्याताबाहिर पुगेर जथाभावी बोल्ने प्रसाईले सरकारलाई धावा बोलिरहेका छन् । प्रसाईले सार्वजनिक गरेका कागजातमा प्रारम्भिक अनुसन्धानको नाम दिइ प्रहरीले हिरासतमा लिएपनि यो आरोपले अब ओलीलाई सहजै छाड्ने स्थिति भने छैन ।

प्रसाईले लगाएको आरोपलाई सरकारले अनुसन्धानको दायरामा ल्याउनुको सट्टा अफवाह फैलाएको आरोपमा पक्राउ गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ । 

यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’ पनि अराजकता फैलाउने काममा तल्लिन छन् । भ्रममा रमाइरहेको नेपाली समाजमा बालेनले एमालेलाई गरेको एक लाख जरिवाना पनि यसैको एक अंगजस्तो देखिन्छ । 

कार्यक्रमस्थलमा फोहोर गरेको भन्दै महानगरले गरेको जरिवानामा प्रश्न स्वभाविक बनेका छन् । एमाले नेताहरुले सरसफाई गर्दै गरेको रातिको फोटो सार्वजनिक गर्दै बालेनले राजनीति गर्न खोजेको र उनी एमालेविरुद्ध कतैबाट परिचालित भएको आरोप लगाइरहेका छन भने महानगर जरिवाना अशुल्न भन्दै च्यासल पुगेर फर्किएको छ । 

काठमाडौं महानगरपालिकाले स्टन्ट गर्न खोजेको आरोप लगाउदै एमालेले प्रशासनिक कामबारे बुझ्न एमालेले चेतावनी दिएको छ । 

उसोतः बालेन तीनै व्यक्ति हुन्, जसले पत्नी सवार गाडीलाई प्रहरीले रोक्दा सिंहदरबार जलाउछु भन्ने गम्भीर अभिव्यक्ति दिएका थिए । 

कार्यकारी पदमा रहेको व्यक्तिले दिने यस्ता अभिव्यक्तिले अराजकता फैलाउन ठूलो सहयोग गर्ने गर्छ ।

रास्वपा र रवि फ्याक्टर

अराजकता फैलाउने काममा राष्ट्रिय स्वतन्त्र पार्टी पनि अग्रपंक्तिमा छ । पत्रकार सम्मेलन गरेर होस् वा अन्य कार्यक्रममा नै, रास्वपाले भ्रम छर्ने गरेका धेरै दृष्टान्त छन् ।

पार्टी सभापति रवि लामिछानेको न्यायिक अनुसन्धानलाई प्रभावित पार्ने गरि रास्वपाले गरिरहेको राजनीतिक शक्ति प्रदर्शनले समाज थप अराजकतातर्फ जानेमा शंका छैन । अनुसन्धान र न्यायपालिकामाथि विश्वास गर्नुपर्ने रास्वपा र स्वयं रवि लामिछाने नै अराजकता फैलाउने अभिव्यक्ति दिनेमा पर्छन् । 

यसरी सभ्य समाज निर्माण कठिन त बन्दै गएको छ यता, अराजकता अन्त्य गरेरै छाड्ने दाबी गरेको सरकार पनि अर्को अराजकताको विजारोपण गर्दैछ । यस्ता विषयले नेपाली समाज सभ्य बन्ला ? चिन्ताको विषय बनेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update