News 24 Television
एमालेले बुझेन जरिवाना-पत्र, बालेनले स्टन्टबाजी गरेको आरोप

काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेले काठमाडाैँ महानगरपालिकाले पठाएको जरिवाना-पत्र बुझ्न अस्वीकार गरेको छ ।  आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रिय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।

शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । शुक्रवार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवाना पत्र लेखेको थियो ।

एमाले केन्द्रिय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताए । नेकपा एमाले केन्द्रिय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन उनले आग्रह गरे । काठमाडौं महानगरपालिकाका प्रुमख बालेन्द्र साहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन समेत उनले आग्रह गरे । 

Emale-(3)-1732443283.jpg
उनले भने, ‘यो चिठी बेठिक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रिय कार्यालय होइन । महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्नेकुरा थाहा पाउनुपर्छ । यो चिठी बुझाउन यसरी जे हर्कत गरिएको छ, एकदमै बेठिक भएको छ । मेयर सावले जे कुरा गरिरहनुभएको छ, नेपालमा सायद कुनैपनि कार्यालयमा चिठी बुझाउन जाँदा यस्तो तरिकाले आइँदैन । जो आयोजक हो, आयोजकलाई लगेर चिठी बुझाउनु होला । सामान्य प्रशासनिक कुरा पनि बुझ्नुहोला । यो बिल्कुल स्टन्टबाजी हो । कार्यक्रम सकिएपछि सफा गरिएको छ । त्यो चिठी अघिल्लो दिन नै प्रिन्ट गरेर राखिएको छ । कार्यक्रम नसकिँदै चिठी मिडयामा लगिएको छ । एमालेको इतिहास हेर्नुस्, एमालेले कहिले पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।’

कार्यक्रम नसकिँदै सञ्चारमाध्यममा पत्र पुगेको भन्दै उनले आक्रोश समेत व्यक्त गरेका छन् । एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाई पनि गरेको उनले दाबी गरे ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update