काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात अंग दान गर्ने दाताका परिवारलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
यसअघि मृत्युपश्चात मानव अंग दान गर्न चाहनेका परिवारलाई सरकारले १ लाख रुपैयाँ दिने गरिएको थियो । तर अब त्यस्ता परिवारले दोब्बर रकम पाउने भएका हुन् ।
यो रकम हाल स्वास्थ्य मन्त्रालयले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत दिइदै आएको छ । अब उक्त रकम दोब्बर बनाउने मन्त्री पौडेलले जानकारी दिए । यसबाट अंग दानमा प्रोत्साहन हुने र विशेषगरी मृगौला पीडितलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
आफ्नो मृत्युपछि अरुको जीवन बचाउन सहयोग गर्ने व्यक्ति र उसका परिवारलाई प्रोत्साहन गर्न उक्त निर्णय गरिएको मन्त्री पौडेलले बताए । मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको छ ।
यसैगरी अंग दानमा सघाउने अस्पताललाई दिइने रकम समेत वृद्धि गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन् । यसअघि त्यस्तो अस्पताललाई ५० हजार रुपैयाँमा मन्त्रालयले सहयोग दिँदै आएकोमा अब २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ दिइनेछ ।