News 24 Television
फेरि सुरुभयो ‘बालेन–ओली वार’, बालेनले दिए लाखको दण्ड ! 

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा वृहत जनसभाको अयोजना गरेको थियो । काँग्रेससँगको गठबन्धनबाट सत्ताकै नेतृत्व गरिरहेको दल एमालेले प्रतिपक्षीलाई साइजमा ल्याउने उदेश्यले जनसभाको आयोजना गरेको हो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै आफूलाई रक्षा मात्रै गरेनन् प्रतिपक्षीमाथि आक्रोश समेत प्रकट गरे । 

प्रधानमन्त्री ओलीविरुद्ध भ्रष्ट र विचौलियाको संरक्षण गरेको देखि कम्बोडियामा समेत ३२ अर्ब लगानी गरेको गम्भीर आरोप लागिरहेको छ । ओलिविरुद्धको यस्ता आरोपहरु विगतमा मन्द रुपमा लाग्ने गरेपनि अहिले सडक र संसदमै चर्कोगरी प्रश्न उठिरहेको छ ।      
 
प्रतिपक्षी दलहरुले ओलीको कार्यशैली र सरकारमाथि नै प्रश्न उठाउँद भइरहेका सडक प्रदर्शनको जवाफ दिन पनि सत्ता नेतृत्वमै रहेको दल एमालेले जनसभाको आयोजना गरेको हो । यस अवसरमा ओलीले प्रतिपक्षीलाई काउन्टर र आफूलाई बचाउ गर्ने प्रयाससँगै गठबन्धनको पक्ष पोषण पनि गर्न भ्याएका छन् । जसको उदेश्य सत्ता लब्याउने रणनीति पनि हो । 

तर, उता नेकपा एमाले जनसभामा झुमिराख्दा काठमाडौंमा सर्वसाधारणहरुले भने सास्ती भोग्नु परेको छ । सरकार सँधै जनमुखी र जनसेवामा समर्पित हुनुपर्छ । तर काठमाडौंको मुख्य चहलपहल रहने दरबारमार्गको सडक नै कब्जा गरेर गरिएको एमालेको जनसभाबाट सर्वसाधारण भने सास्ति व्यहोर्न बाध्य बने । जसले नेतृत्व सर्वसाधारप्रति उदासिन र सत्ता केन्द्रीत मात्रै रहेको प्रष्ट पार्छ । 

उसै त पछिल्लो समय सरकार र दलहरुप्रति नागरिकहरुको वितृष्णा बढ्दो छ । यस्तोमा दलहरुले गरेका यसप्रकारको गतिविधिले सर्वसाधारणलाई अझ आजित बनाइरहेको छ । एमालेको जनसभाले सर्वसाधारणलाई पारेको प्रभावपछि दलहरु अझै किन नसुध्रिएको हो ? भन्ने प्रश्न खडा गरेको छ । अझ सत्तामै रहेका दलहरु यस्तो विषयमा गम्भीर हुनुपर्ने हो । तर यो विषयमा एमाले निश्चय नै चुकेको देखिन्छ । जसले मञ्चमा उभिएर चर्का–चर्का भाषण गरिरहेका सत्ता पक्षका नेताहरुलाईसमेत गिज्याइरहेको छ ।

एमालेलाई बालेनको झापट 

नेकपा एमालेले सत्तामै रहेर पनि सडक आन्दोलन किन गरेको ? सबै शक्ति हातैमा हुँदा सरकारकै तहबाट जागरण ल्याउनुपर्नेमा सडक नै किन रोज्नु पर्यो ? भन्ने प्रश्नहरु उठिरहेका छन्  । यस्तै प्रश्नहरुको घेरामा रहेको एमालेलाई काठमाडौं महानगरले भने जागारणसभापछि सडक फोहोर गरेको भन्दै एक लाख जरिवाना तोकेको छ । 

शुक्रबार महानगरले एमाले पार्टी कार्यालयको नाममा एक पत्र लेख्दै जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गराएको भन्दै १ लाख रुपैयाँ जरिवाना तोकेर पत्र पठाएको हो । पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम उक्त जरिवाना तोकिएको उल्लेख छ । 

बालेनको पत्रपछि एमालेको खण्डन 

       बालेनले जरिवानासहितको पत्र पठाएपछि एमाले नेताहरु भने प्रतिजवाफमा उत्रिएका छन् । एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै काठमाडौं महानगरका मेयर बालेन शाह एमालेका विरुद्ध परिचालित भइरहेको टिप्पणी गरेका छन् । 

महासचिव पोखरेलले स्वयमसेवकहरुबाट फोहोर संकलन गरेर उठाउन तयार गरिरहेको अवस्थामै जरिवाना पर्चा सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले मेयर बालेनको ध्यान सरसफाईमा भन्दा पनि जरिवानाको ‘स्टण्टवाजी’मा रहेको पनि आरोप लगाएका छन् । बरु फोहोर संकलन गरेर व्यवस्थापनका लागि महानगरको सवारी बोलाउँदा त्यसको प्रबन्ध मिलाइदिनुको साटो बालेन जरिवाना पत्र लेख्न उद्यत भएको महासचिव पोखरेलको टिप्पणी छ ।  त्यस्तै एमाले नेता महेश बस्नेतले पनि मेयर बालेनमाथि आक्रोश पोखेका छन् । नेता बस्नेतले काठमाडौँमा हुने सयौं जुलुससभा भन्दा एमालेको सभा अभूतपूर्व भएका कारण बालेनले एमालेसँग एक लाख भिख मागेको टिप्पणी गरेका छन् । 

नेकपा एमाले र काठमाडौं महानगरका मयेर बालेन शाहबीच विभन्न मुद्धामा लामो समयदेखि नै दोहोरी चल्दै आएपनि पछिल्लो समय यसले निरन्तरता पाउन सकेको थिएन । यद्यपि यो जनसभापछि भने एमाले र बालेनबीच पुनः भनाभनको स्थिति सृजना भएको हो । 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update