काठमाडौं । झण्डै २ वर्षदेखि अमेरिकी डलर खर्बपति इलन मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक शुरु गर्ने इच्छा देखाइरहेका छन् । स्टारलिंकले शतप्रतिशत लगानी गर्न चाहन्छ तर, नेपालको कानूनले त्यो दिँदैन ।
कानूनी जटिलता हटाउन स्टारलिंकले अमेरिकी दूतावास मार्फत लबिङ गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र मस्कबीच संवाद भएको छ ।
स्टारलिंकको डेमो प्रधानमन्त्री ओलीले हेरिसकेकाले यो संवादलाई अर्थपूर्ण मानिएको छ । स्याटलाइटमार्फत सहजै सञ्चार सुविधा पाउन सम्भव हुने भएपनि यस्तो महंगो प्रविधि नेपालले धान्न सक्छ त ?
अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको लामै समय भैसकेको छ ।
कात्तिकको अन्तिममा स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्व के–के छन् भन्नेबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिएको थिए । डेमो हेरेको केही दिनमा नै प्रधानमन्त्री ओली र खर्बपति मस्कबीच भिडियो संवाद भएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत मस्कसँग संवाद गरेको उनको सचिवालयले जानकारी दिएको हो । स्टारलिंकले नेपालमा सेवा थाल्ने वातावरण बनाइदिन माग गर्दै झण्डै २ वर्षदेखि लगातार छलफल गर्दै आएको छ ।
के हो त स्टारलिङ्क ?
स्टारलिंक एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित एक उपग्रहमा आधारित इन्टरनेट सेवा परियोजना हो । यसको मुख्य उद्देश्य पृथ्वीको कुनै पनि स्थानमा उच्च गतिको, भरपर्दो र सुलभ इन्टरनेट सेवा पु¥याउनु हो ।
स्टारलिंकले हजारौँ साना उपग्रहहरू पृथ्वीको सतहभन्दा ५ सय किलोमिटरको कक्ष (लो अर्थ अर्बिट) मा प्रक्षेपण गरेर नेटवर्क तयार गर्छ, जसले ग्रामीण, दुर्गम र पारम्परिक इन्टरनेट पहुँचबाट वञ्चित क्षेत्रहरूलाई इन्टरनेटमा जोड्न मद्दत गर्दछ ।
यसले परम्परागत इन्टरनेट सेवाको जस्तो तार वा केबलको आवश्यकता हटाएर सीधै उपग्रहमार्फत इन्टरनेट सिग्नल पठाउँछ । यो प्रणाली मौसमको अवस्था, भौगोलिक चुनौतीहरू र अन्य अवरोधहरूलाई बेवास्ता गर्दै विश्वभर छिटो र विश्वसनीय इन्टरनेट पु¥याउन सक्षम छ ।
स्पेस एक्सको फाल्कन ९ रकेटको मद्दतले अन्तरिक्षसम्म पु¥याइने स्टारलिंकका स्याटलाइटहरू सन् २०१९ बाट पठाउन सुरु भएको हो । एक पटकमा ६० वटासम्म स्याटलाइट पठाउन मिल्ने स्पेस एक्सका रकेटहरूले अहिलेसम्म झन्डै ४ हजारभन्दा बढी स्याटलाइटहरू अन्तरिक्षमा पु¥याइसकेको छ ।
नेपालको कानूनी प्रवाधान
कम्पनीको लबिङमा नै सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने प्रबन्ध मिलाउने घोषणा समेत गरेको थियो । यद्यपी स्टारलिंकलाई आफ्नो सेवा नेपालमा विस्तार गर्न चुनौती छ ।
हालसम्म विश्वका एक सय भन्दा धेरै देशमा स्याटलाइटमार्फत दूरसञ्चार सेवा विस्तार गरिसकेको स्टारलिंकले शतप्रतिशत लगानी गर्न पाए नेपालमा पनि आउने स्पष्ट पारेको छ । तर विदेशी दूरसञ्चार कम्पनीले नेपालमा ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीतिका कारण अघि बढ्न सकिरहेको छैन ।
नेपालको दूरसञ्चारसम्बद्ध कानुनले भने इन्टरनेट सेवा दिन इन्टरनेट सेवा प्रदायक कम्पनीकै रुपमा दर्ता हुनुपर्ने र तोकिएको शर्त पुरा गरेर लाइसेन्स लिएर सेवा शुल्क बुझाउनुपर्नेसहितका व्यवस्था गरेको छ ।
महंगो प्रविधि
पछिल्लो तथ्यांकअनुसार विश्वभर स्टारलिंकमा मात्रै २७ लाख प्रयोगकर्ता छन् । सन् २०२४ मा ६.६ अर्ब डलर आम्दानी गर्ने दाबी कम्पनीको छ । स्टारलिंकको इन्टरनेट सेवाको मूल्य घरायसी प्रयोजनका लागि मासिक १२० डलर (करिब १६ हजार रुपैयाँ) पर्छ भने ५० जीबीदेखि ५ टीबीसम्मका विभिन्न श्रेणीका प्याकेजका लागि मासिक ५० डलर (करिब ६ हजार ७ सय रुपैयाँ) देखि ५ हजार डलर (करिब ६ लाख ७० हजार रुपैयाँ) सम्म मूल्य तोकिएको छ । सरकारी र संस्थागत स्तरमा सेवा विस्तार गर्न सकिने सम्भावना रहे पनि व्यक्तिगत प्रयोगका लागि यो निकै महँगो छ ।
नेपालका धेरै दुर्गम र ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा पु¥याउन हालको तार, टावर, वा मोबाइल नेटवर्क स्थापना गर्नु कठिन र महँगो हँदा स्टारलिंक विकल्प हुनसक्छ ।
स्टारलिंक नेपालमा आउँदा ग्रामीण र दुर्गम क्षेत्रलाई इन्टरनेटमा जोड्न ठूलो क्रान्ति ल्याउनेमा दुईमत छैन । तर, यसको उच्च लागतका कारण व्यक्तिगत प्रयोगकर्ताका लागि यो व्यावहारिक भने नहुन सक्छ ।