काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटमा नयाँ उत्साह र रौनक ल्याएको छ । घरेलु तथा विदेशी खेलाडीहरूको सहभागिता, रोमाञ्चक खेलहरू, र रंगीन माहोलले एनपीएललाई नेपाली खेलकुद क्षेत्रको महत्त्वपूर्ण पर्वजस्तै बनाएको छ ।
एनपीएलको प्रतिक्षामा डिजिटल मिडियामार्फत लाखौं समर्थकहरूको जुर्मुराहट, र सामाजिक सञ्जालमा प्रतियोगिताको व्यापक चर्चा यस लिगको लोकप्रियताको प्रमाण हो । मंसिर १५ गतेदेखि शुरु हुने एनपीएललाई भव्य र सफल बनाउन कीर्तिपुरस्थित क्रिकेट मैदानलाई व्यवस्थित बनाउन व्यापक पहल भइरहेको छ ।
मैदानको पूर्वाधार सुधारमा प्राथमिकता दिइएको छ । पिचको गुणस्तर उकास्न आधुनिक प्रविधि प्रयोग हुँदैछ । आउटफिल्डलाई थप हराभरा र खेलमैत्री बनाउन मर्मतसम्भार गरिएका छन् ।
दर्शकहरूका लागि प्यारापिटको विस्तारको साथै आरामदायक बसाइका लागि नयाँ सिटहरूको व्यवस्था, र टिकट प्रणालीलाई डिजिटल बनाउने कार्य भइरहेका छन् । विशेषगरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाई छ ।
एनपीएलको पहिलो संस्करणमा साधारण प्याराफिटतर्फ पहिलो पटक जोन छुट्टाइएको छ । टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ । र, चार जोनको लागि अलग अलग गेट बनाइएको छ । अर्को ठूलो परिवर्तन भनेको टियु मैदानमा पहिलो पटक भीआईपी टिकटको व्यवस्था गरिनेछ ।
जसका लागि बस्ने मेच राखिएको छ । टियुमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो । दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भीआईपीतर्फको रहेको छ । तर १ हजार २ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ ।
साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ । यसअघि क्रिकेट हर्नका लागि दर्शकहरू घाँसे मैदानमा बस्नु पर्ने र रुख चढ्नु पर्ने बाध्यता थियो । यसबाहेक पहिलो पटक डिजिटल स्कोरबोर्ड अर्को परिवर्तनको रूपमा रहनेछ ।
पहिलो पटक यो मैदानमा डिजिटल स्कोरबोर्ड जडान गरिएको हो । सबैभन्दा महत्वपूर्ण पक्ष पिचमा लगानी र मेहनत भरपुर गरिएको छ । बङ्गलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ । सँगै आउटफिल्ड पनि निकै राम्रो बनेको छ । दर्शक र मैदानबीचको बारलाई सारिएको छ । जसले गर्दा बाउण्ड्री नै बढेको छ ।
त्यस्तै, भीआईपी र फ्रेन्चाइज लाउन्ज बनेको छ । मिडिया बक्स प्लेयर बक्सभन्दा माथि सारिएको छ । प्राक्टिस ट्रफ पनि अहिले पाँचवटा बनाइएको छ । साइड स्क्रीन पनि परिवर्तन गरिएको छ ।
क्यान आफँैले गरेको स—साना परिवर्तनले पनि मैदानको स्वरूपमा सकारात्मक परिवर्तन देखिएको छ । तर सरकारले एक सय दिनभित्र जडान गर्ने भनेको फ्लड लाइट भने अझै जोडिएको छैन । यसका बाबजुद पनि क्यानको नेतृत्वमा पहिलो पटक हुन लागेको एनपिएलको रौनक बेग्लै छ ।
एनपीएलको रौनकले नेपाली क्रिकेटलाई नजिकबाट अनुभव गर्ने मात्र होइन, यसलाई विश्वभर चिनाउने अवसर पनि प्रदान गरेको छ ।
लिग अब नेपाली क्रिकेटको गौरव र पहिचानको प्रतीक बनेको छ । यही रोमाञ्चकता कायम रहे, एनपीएलले नेपाली क्रिकेटलाई विश्वस्तरमा स्थापित गर्ने मार्ग प्रशस्त गर्नेछ ।