बाजुरा । सन्तान हुर्काउन भन्दै भारत पसेका बुवाको मृत्यु र आमा अर्को विवाह गरेर गएपछि बालबालिकाको विचल्ली भएको छ । तीन बालिकाका वुवाले भारतमा आत्महत्या गरेपछि उनीहरु वेसहारा मात्रै बनेका छैनन्, जीवन कसरी चल्छ भन्ने अन्योलतामा समेत फसेका छन् ।
आमा अर्को विवाह गरेर जाने र वुवाको मृत्युपछि १० वर्षमूनीका तीन बालिकाहरु अभिभावनबिहीन बनेका छन् । बाजुराको गौमुल गाउँपालिका वडा ६ सडेडाका ३० वर्षिय भिमबहादुर रोकायाको भारतमा मृत्यु भयो । २५ दिन पहिले कामको खोजीमा भारत पुगेका रोकाया आफ्नै कोठामा झुन्डिएर मृत्यु भएको भेटिएको वडा नम्बर ६ का अध्यक्ष प्रकाश रोकायाले बताए । भारतमा मजदूरी गरेर जिविकोपार्जन गर्दै आएका रोकायकी पत्नी पनि भारतमै अर्कोसँग विवाह गरेर गइसकेको बताइएको छ ।
परिवारबिहीन बनेका तीन बालिका १० बर्षीया पविना, ८ बर्षीया इसिका र ६ बर्षीया सुस्मिता रोकाया सहारा नहुदा अलपत्र अवस्थामा छन् ।
आमा संगिताले अर्को विवाह गरेपछि वुवासंग बस्दै आएका उनीहरु गाउँमा अहिले अलपत्र अवस्थामा छन् । स्थानीयहरुले उनीहरुको स्थिति दयनीय रहेको भन्दै सहयोगको अपिल समेत गरेका छन् । यस्तोमा सहयोगका लागि विभिन्न निकायसँग समन्वय गर्ने वडाध्यक्षको भनाई छ ।
वुवाको निधन र आमा अर्कैसँग हिडेपछि अलपत्र परेका बालिकाहरुले सहारा खोजिरहेका छन् । छाक टार्न समेत कठिन बनिरहेको बेला उनीहरुले विलौनाबाहेक केहि गर्न सक्ने स्थिति भने छैन् ।
बालिकाको विजोग भएपनि स्थानीयहरुले समेत उनीहरुलाई आश्रय दिनसक्ने स्थिति छैन। गरिबी र आर्थिक अभावका कारण उनीहरुलाई राख्न सकिने स्थिति नरहेको पीडित बालिकाकी ठुलीआमाको भनाई छ ।
परिवार उजाडिदा समस्यामा परेका बालिकाहरु न शिक्षाको पहुँचमा पुग्न सकेका छन, न अन्य आधारभूत आवश्यकता नै पुरा गर्न सकेका छन् । स्थानीय र बालिकाका आफन्तहरुले कसैले उनीहरुलाई शिक्षा, स्वास्थ्य र आवासको व्यवस्था गरे जिम्मा लगाउने मनशायमा देखिन्छन् ।