News 24 Television
फेरि भिड्दै ‘गगन–रवि’, रवि हुत्याउन देउवा–ओलीको नयाँ चाल !

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र नेपाली काँग्रेसका महामन्त्री गगन थापाबीचको राजनीतिक संघर्ष नयाँ होइन् । रवि राजनीतिमा आएदेखि नै गगन र रविबिच कुनै न कुनै कोणबाट संघर्ष हुँदै आएको थियो । 

जनताले राजनीतिमा नयाँ र युवा अनुहारको खोजी गरिरहँदा यी दुई पात्रलाई नै आशाको केन्द्र बनाइयो । यस कारण पनि रवि–गगन संघर्ष स्वभाविक थियो । तर सहकारी ठगी प्रकरणपछि भने रवि–गगनबीचको संघर्ष राजनीति नै दाउमा राख्नेसम्मको स्थितिमा पुग्यो । 

सहकारी ठगी प्रकरणमा गगनले रविविरुद्धको प्रमाण नै भएको संसदमा दावी गरिदिएका थिए । यसपछि आक्राशित रविले प्रमाण पुष्टि भए राजनीति नै दाउमा राख्ने गगनलाई चुनौति दिए । यसलाई गगनले पनि स्वीकारेका छन् ।

 तर रवि र गगनबीच राजनीति नै छाड्नेसम्मको दाउको फैसला अझै भइसकेको छैन । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि एक महिनादेखि प्रहरी हिरासतमै छन् । यद्यपि रविमाथि विभिन्न कोणबाट अनुसन्धान गरिएपनि दोषी भने करार भइसकेका छैनन् । तरपनि गगनले रविलाई सहकारी प्रकरणमा दोषी नै रहेको जिकिर गरिरहेका छन् । 

उता हिरासतमै रहेका रविले भने पक्राउ पर्नुअघि गगनले राजनीतिबाट सन्यास नलिनुपर्ने बताएका थिए । यद्यपि गगनको राजनीति जोगाइदिन सरकारले आफूलाई जेल लाने कोशिस गरिरहेको रविको आरोप थियो । रवि हिरासतमै रहेका बेला मन्त्रिमण्डल हेरफेरको तयारीसमेत भइरहेको छ । 

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेका छन् । मुख्यतः नेपाली काँग्रेसले पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर महामन्त्री गगन थापाकै नेतृत्वमा अर्को टोली सरकारमा पठाउने तयारी गरिरहेको छ । 

यो विषय टुंगोमा पुग्न नसकेपनि हाल प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच यही विषयमा घनिभूत छलफल भइरहेको दावी गरिन्छ । सम्भवतः प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि नै मन्त्रिमण्डल हेरफेर हुने चर्चा छ । 

के गगन सरकारमा जान्छन् ? 

पार्टीमा फरक धारणा राख्दै आएका गगनलाई यअसघि नै सरकारमा जान प्रस्ताव आएको थियो । तर गगनले तत्काल सरकारमा जान आएको प्रस्ताव अस्वीकार गरे । 

काँग्रेस संसदीय दलको नेताकै लागि सभापति शेरबहादुर देउवालाई नै चुनौति दिएका गगनले आफू प्रधानमन्त्रीको तयारीमा रहेकाले मन्त्री बनेर सरकारमा नजाने त्यो बेला तर्क गरेका थिए । तर अहिले पुनः गगनलाई काँग्रेसकै नेतृत्व गरेर सरकारमा जान अफर आएको छ । 

यसमा गगन पनि सकारात्मक छन् । किनकी पछिल्लो समय देउवा र गगनबीच राजनीतिक निकटता पनि बढेको छ । साथै मुलकुमा ठूलै समस्याको रुपमा खडा भएको सहकारी ठगी प्रकरणमा पनि कडाइसका साथ अनुसन्धान गरिनुपर्नेमा गगनले जोड दिइरहेका छन् । 

हाल भइरहेको चर्चा अनुसार गगन उपप्रधानसहित गृहको नेतृत्व लिएर सरकारमा जानेछन् । यो मर्यादा गगन स्वयम आँफैका लागि पनि अनुकुल छ । किनभने यसअघि गगनले सरकारमा जान अस्वीकार गर्नुको कारणमा कम्तिमा रवि लामिछानेले लिएकोभन्दा कम मर्यादामा रहनेगरी सरकारमा नजाने भन्ने पनि हो । तर अहिले रविले नै लिएको पदीय मर्यादा प्राप्त भए गगन सरकारमा जान तयार देखिन्छन् । 

यस्तोमा काँग्रेसले गगनलाई नै उपप्रधान सहित गृहमन्त्री बनाएर रविविरुद्ध मैदान उतार्ने तयारीसमेत गरेको हो । यो अवस्थामा प्रधानमन्त्री ओलीलाई पनि काम गर्न सहज हुने सत्ता पक्षको आंकलन छ । यदी गगन नै गृहमन्त्री भएर सरकारमा आए ‘गगन–रवि’बीचको गेम अनिमात्रै सुरु हुने राजनीतिक वृत्तमा टिप्पणीसमेत भइरहेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update