News 24 Television
पहिरोले बिग्रिएको टाखेल–टीकाभैरव सडक नबन्दा यात्रु जोखिममा

काठमाडौं । कान्ति लोकपथसँग जोडिएको ललितपुरको टाखेल–टीकाभैरव सडकखण्ड असोजमा आएको बाढी पहिरोका कारण अस्तव्यस्त बनेको दुई महिनाभन्दा बढि भइसक्यो । तर अझै अझै यो सडकखण्ड निर्माणका कसैको ध्यान पुगेको छैन । 

बिग्रिएको सडकखण्ड यत्तिकै लथालिंग छोडिदाँ यो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न विवश छन् । दृश्यमा देखिएको बुङबुङती धुलो उडिरहेको यो सडक कान्ति लोक पथसँग जोडिएको टाखेल टीकाभैरव सडक खण्ड हो । ललितपुरको टाखेल टीका भैरवमा पर्ने यो सडकखण्डमा यात्रा गर्ने जो कोहीले यतिबेला निकै सास्ती भोग्नु पर्छ । 

यो धुलाम्मे सडकखण्ड पार गरेर जाने यात्रुको अवस्था यति नाजुक भइसक्छ की आफ्नै मान्छेले पनि नचिन्न सक्छन् । राजधानीसँगै जोडिएको गोदावरी नगरपालिका १० र ६ मा पर्ने टाखेल÷टिकाभैरब सडकखण्ड हुँदै दैनिक करिब तीन सय साना तथा ठूला मालबाहक सवारी कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने गर्छन् । गत असोज १२ गतेको पहिरोपछि टाखेल÷टिकाभैरब सडकखण्ड यस्तो नाजुक अवस्थामा पुगेको हो । 

सडकमा खसेका माटो, ठूला रुखलगायत पन्छाउन कुनै निकायको ध्यान गएको छैन । विजुलीका तारहरू असरल्ल छन् । नागरिकको दैनिकीसँग जोडिएको सडक सञ्जाल मर्मतका लागि वेवास्ता गरिँदा पैदल तथा सवारी यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् ।

सडकको बीचमा पहाड झै थुप्रिएको माटो र ढुङ्गाले सवारी दुर्घटनाको जोखिमलाई उच्च बनाएको छ । यो सडकखण्डमा यात्रा गर्नेमध्ये दुई पांग्रे सवारी चालकहरुको त बिजोग नै हुन्छ । 

सडक सुरक्षालाई महत्व नदिइँदा वर्षैपिच्छे बाढी र पहिरोको चपेटामा अर्बौं लगानीका सडकहरु बग्ने र भत्किने गरेका छन् । सडकको सुरक्षातर्फ ध्यान नदिंदा धेरै व्यक्तिले दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन् । 

सडक अवरुद्ध हुँदा हुने आर्थिक नोक्सानीको त हिसाब नै गरिंदैन । हुनतः टाखेल÷टिकाभैरब÷लेले सडकखण्ड निर्माण गरिएको करिब दुईवर्ष मात्र भएको थियो । चार लेनको सडक निर्माण गर्ने भन्दै लामो समयसम्म कष्ठपूर्ण यात्रा गरेका स्थानीयले फेरि पहिरोका कारण उही समस्या भोगेका छन् । 

सानो ट्रयाक मात्रै खोलिएकाले सडकका दुवैतर्फ गाडीहरूको लाम लाग्ने गरेको छ भने स्थानीयवासीलाई दैनिक जीवनयापनमा समस्या परिरहेको छ । 

यो समस्यालाई गोदावरी नगरपालिकाले पनि स्वीकारेको छ । तर, प्रशासनिक झमेला र कानूनी बाधाका कारण काम गर्न नसकेको दाबी नगरपालिकाको छ । 

सडक मात्र होइन, पहिरोले केही स्थानमा बिजुलीका खम्बा र पानी आपूर्तिका पाइपलाइनमा पनि क्षति पु¥याएको छ । अस्थायीरुपमा मर्मत गरिएको भएपनि अहिले स्थानीयहरूले खानेपानीको समस्या पनि भोगिरहेका छन् । दुषित पानी पिउन बाध्य बनेका स्थानीयहरूको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । 

भौतिक क्षति बढि भएको र रकम कम विनियोजन भएकाले समस्या भरहेको नगरपालिकाको भनाई छ । आफूहरू जनताको सहजताका लागि प्रतिबद्ध रहे पनि अब प्रदेश र केन्द्र सरकारले पहल गर्नुपर्नेमा नगरपालिकाको जोड छ । 

बिग्रिएपछि मात्रै बनाउने र निर्माणका क्रममा भविष्यमा आउन सक्ने समस्या पछिका लागि पूर्वयोजना नहुँदा नेपालका सडकहरुमा कुनै समस्या आइहाले त्यसको समाधान हुन लामो समय लाग्छ । 

त्यही चिरपरिचित नियति अहिले कान्ति लोकपथ अन्तर्गत टाखेल टीकाभैरब सडकखण्डले भोगिरहेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update