सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका २ स्थित निर्मित बसपार्क अझै संचालनमा आउन सकेको छैन । २०७९ साल फागुन १ गते बाजागाजा सहित मलंगवा नगरपालिकाले उदघाटन गरेको नयाँ बसपार्क अझै संचालनमा आएको छैन ।
करिब ८ करोर ३९ लाखको लागतमा बनेको अत्याधुनिक तथा सुविधा सम्पन्न बसपार्क उदघाटनको २ वर्षसम्म पनि सञ्चालन हुन नसक्दा राज्यको ठूलो लगानी खेर जाने देखिएको छ ।
वसपार्क तयार छ । बस देखिन्नन् । बसपार्कमा राज्यको ठूलो धनराशी खर्च भइसक्यो । स्थानीय तह र सरोकारवाला निकाय वसपार्क सञ्चालन गर्ने योजना बनाउनै सकेका छैनन् ।
यसको प्रमुख कारण हो, यातायात व्यवसायीले पुरानो वसपार्कबाट दम्भपूर्वक वस सञ्चालन गर्नु । नयाँ वसपार्कमा यातायात व्यवसायी जान नमान्नु र स्थानीय तह र प्रशासन संयन्त्र थाहा नपाए झैं बस्नुले झण्डै ९ करोड लगानी गरेको वसपार्क उपयोगबिहीन बन्न पुगेको छ । तर, यसको सञ्चालन तथा प्रयोगमा सोधिने प्रश्नमा स्थानीय तह भने आलटाले जवाफ दिएर पन्छिन खोज्ने गरेको छ।
वसपार्क हुदाहुदै बजार क्षेत्रबाट बस सञ्चालन गर्नु सान्दर्भिक नभएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको भनाई छ ।
बजारमा हुईकिने बसलाई वसपार्कबाट सञ्चालन गर्ने विषय कठिन बनिरहेको छ । तर, सर्लाहीका प्रमुख जिल्ला अधिकारी भने आफू आएदेखि नै पहल गरिरहेको जवाफ दिइरहेका छन् ।
बसपार्क जान नमानिरहेका यातायात व्यवसायीहरु भने बसपार्कबाट विद्युतिय म्याजिक सवारी साधन सञ्चालनमा आए मर्का पर्ने जिकिर गरिरहेका छन् । म्याजिकलाई अन्यत्र स्थानान्त्रण गरे वस सञ्चालन हुने व्यवसायीको दाबी छ ।
यातायात व्यवसायीहरु प्रतिष्पर्धा र सेवामूलक ढंगले वस सञ्चालनको सट्टा कुनलाई बसपार्कमा जान दिने र नदिने भन्ने विषयमा अल्झिएपनि स्थानीय सरकार, सरकारी संयन्त्र र सरोकारवालाहरुले निर्देशनात्मक ढंगले काम गर्न नसक्दा बसपार्क खण्डहरमा परिणत हुने खतरा पैदा भएको छ ।
उसोतः २६ रोपनीमा फैलिएको अढाई तल्ले टर्मिनल भवन ,शौचालय, खानेपानी,वर्कशप तथा प्रतिक्षालयसहित तयार भएको बसपार्क कार्तिक १ गतेदेखि संचालनमा ल्याउने भनिएको थियो । तर अझैसम्म संचालनमा आएको छैन ।