कास्की । असारमा रोपेको मानो मुरीको रुपमा भित्र्याउने महिना हो कात्तिक मंसीर । तर सरकारले कास्कीको रैथाने बाली भन्दै संरक्षण गर्नु पर्छ भन्ने गरेपनि पोखरा चिनाउने जेठोबुढो धानको उत्पादनमा भने यो पटक कमी आएको छ । जसका कारण पोखराका किसानहरु चिन्तित बनेका छन ।
पोखरा चिनाउने खाद्यान्न हो, ‘जेठोबुढो’ धान । कुनै समय पोखराको जेठोबुढो धान भनेपछि अन्य धानसँग तुलनै हुन्थेन । तर अहिले जेठोबुढोको बीउसमेत भेटाउन मुस्किल छ ।
यताकता भएको जेठोबुढोको पनि न स्वाद छ न बास्ना नै । खेतका फाँटबाट जेठोबुढो हराउँदै जाँदा धानको बाला लाग्न थालेपछि मगमग आउने बास्ना पनि हराएको छ । हावा, पानी, कमसल बीउ विजन, रासायनिक मलको प्रयोग लगायतका विभिन्न कारणले अघिल्लो वर्षहरूमा भन्दा यो वर्ष उत्पादन नै कम भएकोले किसान चिन्तित छन् ।
यो सँगै जेठोबुढो धानको वास्ना र स्वाद हराउँदै गएको र केही महङ्गो हुने भएकाले पनि माग कम भएको हुन सक्ने किसानको बुझाइ छ ।
घरमा भात पकाउँदा समेत गाउँभरि फैलिने बास्ना अहिले खाने बेलामा पनि वासना नआउने गरेको किसान बताउँछन् । यता खेतीपातीमा विकासे मलको प्रयोग गर्न थालेपछि उत्पादनमा गुणस्तर घटेको बिशेषज्ञहरुले बताउँदै आएका छन् ।
पोखरा महानगर, जैविक विविधिता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल जस्ता संस्थाले रैथाने बाली प्रर्वद्धनमा पहल गर्दै आएका छन् । तर पनि उत्पादन कम हुन थालेपछि कृषकले जेठोबुढो धान उत्पादनमा पछिल्लो समय किसानको रुचि घट्दै गएको छ ।
केही वर्ष अगाडिदेखि जेठोबुढो धान उत्पादन गर्ने कृषकलाई पोखरा महानगर कृषि महाशाखाले प्रोत्साहनका कार्यक्रम समेत गर्दै आएको महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् ।
२०६३ सालमा नेपाल सरकारले जेठोबुढोलाई पुरानो रैथाने जातको धानको भनेर सूचीकृत गरेको थियो । सुरुवातीमा जेठोबुढो मात्र भनिए पनि अहिले पोखरेली जेठोबुढो भनेर चिनिन्छ ।
जेठोबुढो पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशकै पहिचान हो र यसको माग अझै पनि छ । पोखरा महानगरले जेठोबुढो प्रवद्र्धन गर्नको लागि कार्यक्रम नै संचालन गरेको छ । साथै बिग्रँदो यो उत्पादनलाई सुधार्न जेठोबुढो धानको अनुसन्धान गरेर अझै विस्तार गर्न सकिने कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् ।
जेठोबुढोमा एकरुपता नहुँदा धेरै जातबाट छनौट गरी ६ वटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको थियो । यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्दछन् ।
६ सयदेखि नौ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्दछ । पोखरामा ११ हजार २ सय हेक्टरमा धान उत्पादन हुन्छ भने यसभित्रको ४० प्रतिशत खेतमा जेठोबुढो उत्पादन हुँदै आएको छ ।