काठमाडौँ । नेपालको इतिहासमै पहिलोपटक भएको ‘सार्वभौम क्रेडिट रेटिङ’ (साख मूल्यांकन)मा नेपालले ऐतिहासिक रेटिङ पाएको छ । विश्वका तीन ठूला कन्ट्री रेटिङ कम्पनीमध्येको फिच रेटिङ्सले नेपालका विभिन्न पक्षको सूक्ष्म अध्ययन एवं मूल्यांकन गरेर ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको हो । नेपालले पहिलोपटकमै अपेक्षाभन्दा राम्रो रेटिङ पाएको छ । दक्षिण एसियाली मुलुकमा भारतपछि नेपालकै रेटिङ उत्कृष्ट ठहरिएको छ । डबल बी माइनस रेटिङ भारतको भन्दा दुई स्थान मात्रै तलको रेटिङ हो । दक्षिण एसियाका अन्य मुलुकहरूले नेपालको भन्दा पनि तल्लो स्तरको रेटिङ पाएका छन् । यद्यपि नेपालका लागि यो रेटिङ त्यति गर्वको विषय हैन, आगामी केही महिना वा वर्षमा पुनः रेटिङ गरिँदा अझै राम्रो नतिजा ल्याउन सक्नुपर्ने विज्ञहरु बताउँछन् ।
फिचले नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा उक्त रेटिङ प्रदान गरेको जनाएको छ । यसलाई नेपालको जस्तै अवस्था भएका अन्य देशको तुलनामा निकै उत्कृष्ट रेटिङ मानिएको छ । डबल बी माइनस भनेको लगानीका लागि मध्यम जोखिम जनाउने रेटिङ हो । यसरी हेर्दा नेपालमा वैदेशिक लगानीका लागि वातारण बनेको छ तर विशेषगरी सट्टेबाजी लगानीका लागि । दीर्घकालीन र जोखिमरहित लगानीका लागि भने नेपाल उपयुक्त बनिसकेको छैन, राजनीतिक स्थिरताका साथै आर्थिक सूचकहरुमा सुधार ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
नेपालले प्राप्त गरेको रेटिङले यहाँको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री रहेको संकेत भने गरेको छ । क्रेडिट रेटिङको नतिजाले नेपालको क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको देखाएको हो । नेपालले अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनुपर्दा न्युन व्याजदरमा ऋण प्राप्त गर्नसक्ने अवस्था देखिन्छ । निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न तथा वैदेशिक लगानी आकर्षित गर्न समेत यस रेटिङले सहयोग पुग्ने देखिएको छ । सार्वभौम रेटिङमा नेपालले प्राप्त गरेको यो नतिजाले निजी क्षेत्रमा देखिएको निराशा चिरेर माथि उकास्न मद्दत पुग्ने अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे बताउँछन् । यस रेटिङले नेपालको अर्थतन्त्र सुधारका लागि रिफर्मका क्षेत्रहरु समेत संकेत गरेको भन्दै निजी क्षेत्र र सरकारलाई सुधारको लागि प्रेरित गरेको उनको भनाइ छ ।
क्रेडिट रेटिङमा सल्लाहकारको भूमिका खेलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखसमशेर जबराले नेपालले पाएको ‘डबल बी माइनस’ रेटिङले विदेशबाट ल्याउने ऋणको लागत १.५ प्रतिशतसम्म घट्ने बताउँछन् । उनले अहिले विदेशी ऋणदाताले नेपाली कम्पनीहरूलाई दिने ऋणमा ४ देखि ४.५ प्रतिशतसम्म जोखिम बापत प्रिमियम जोडिरहेको भन्दै अहिलेको रेटिङले १.५ प्रतिशतसम्म प्रिमियम कम हुनसक्ने बताए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले क्रेडिट रेटिङको राम्रो नतिजापछि नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताए । उनले क्रेडिट रेटिङको काम शुरुवात मात्र भएको र आगामी दिनमा निरन्तरता दिने बताए । यसपटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य भएको सन्देश विश्वव्यापी रुपमा गएको भन्दै उनले नेपालमा लगानी गर्न आह्वान गरे । नेपालमा लगानी गर्नेहरुले राम्रो प्रतिफल पाउने जिकिर गर्दै उत्साहका साथ लगानीमा सहभागी हुन उनको आग्रह छ ।
सार्वभौम क्रेडिट रेटिङले देशी–विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि जोखिम के कति छ भन्ने जानकारी दिन्छ । कुनै पनि मुलुकको ऋणपत्रमा तथा अन्य परियोजनाहरुमा लगानी गर्दा आउनसक्ने जोखिमबारे जानकारी दिने हुनाले क्रेडिट रेटिङले मुलुक र लगानीकर्ता दुवैलाई फाइदा पुग्छ । क्रेडिट रेटिङपछि नेपालले विदेशी लगानी भित्र्याउन र अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरेर सहुलियत ऋण उठाउनका लागि समेत बाटो खोलेको छ ।