वीरगञ्ज,पर्सा । शैक्षिक सत्र २०८० को एसईई परिक्षामा वीरगञ्जको गौतम माध्यामिक विधालयमा अध्यन्नरत रिया साहले ३.९७ जीपीए ल्याएर पर्सा जिल्ला टप गरेकी छन् ।
एसईई परिक्षाको नतिजा चित्त बुझ्दो नआएपछि पुनर्योग गर्दा उनले पर्सा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् ।
सो अवसरमा विधालयले एक कार्यक्रमको आयोजना गरी छात्रा रियालाई २५ हजार नगद पुरस्कार र सम्मान पत्रसहित सम्मान गरेको छ ।
कार्यक्रममा विधार्थी रियाले आफ्नो आमाबुबा तथा विधालयको साथका कारण उक्त नतिजा ल्याउन सफल भएको बताईन् । उनले आफ्नो आत्मबल बढाउन विधालयका शिक्षक तथा शिक्षीकाले खेलेको भूमिका प्रति धन्यवाद व्यक्त गरिन् ।
यस्तै, विधालयकी सह–प्रधानाध्यापिका पिया लामाले विधार्थीको उत्कृष्ट नतिजाले आफूहरु गौरभान्वित महसुस भइरहेको बताईन् । छात्राले गरेको मेहेनतप्रति परिवारजनले गरेको विश्वासको कारण सफलता हासिल भएको भन्दै प्रशंसा समेत गरिन् ।
वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले विधार्थीको आफूप्रतिको अटल विश्वास र परिवारजनको साथले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका छन् । उनले आएको नतिजालाई अन्तिम रुपमा स्वीकार नगरी आफूले गरेको मेहेनत प्रति विश्वास छ पुनः चेकेजाँच गराउनु पर्ने बताए ।
गत असारमा राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा रियाले अन्य विषयहरुमा ए प्लस ल्याए पनि कम्पूटर साईन्सको विषयमा भने बी प्लस ल्याएकी थिईन । त्यतीबेला उनको एसईईको नतिजा ३.९५ जीपीए रहेको थियो । अहिले पुनर्योग गर्दा उनले ३.९७ ल्याएकी हुन् ।
यो घटनाले राष्ट्रिय परिक्षा बोर्ड अन्तरगत परिक्षा नियन्त्रण कार्यालयको लापरवाहीलाई दर्शाएको छ । यस्ता प्रकृतिका गम्भीर त्रुटीकै कारण विधार्थीहरुको मनोबल खस्नुका साथै परिक्षाको नतिजा नै संका उत्पन्न भएको छ ।