News 24 Television
नेपालमा लगानी बढाउन अर्थमन्त्री पौडेलको आह्वान

काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गर्दै अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङको काम अन्तिम नभएर केवल शुरुवात मात्र भएको बताए । उनले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रुपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने पनि बताए ।

यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य भएको सन्देश विश्वव्यापी रुपमा गएको पौडेलकाे भनाइ छ । उनले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लागनी गर्नेहरुले राम्रो प्रतिफल पाउने जिकिर समेत गरे । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुन उनकाे आह्वान छ । 

अर्थमन्त्री पौडेलले भने, ‘क्रेडिट रेटिङको काम हामीले शुरु गरेका छौँ । यो अन्तिम होइन, शुरुवात थियो । क्रेडिट रेटिङलाई निरन्तरता दिन्छौँ । हामीले आवधिक रुपमा हाम्रो अर्थतन्त्रको स्वास्थ्य स्थिति के छ भन्नेकुरालाई आवधिक रुपमा सार्वजनिक पनि गर्दै जान्छौँ । यो हाम्रो क्रेडिट रेटिङको श्रृंखलाको पहिलो एपिसोड हो । आउने दिनमा यसलाई निरन्तरता दिन्छौँ भन्ने पनि म विश्वास दिलाउन चाहन्छु । यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य हो भन्ने र नेपालमा गरिने लगानी सुरक्षित हुन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिन सफल भएका छौँ । क्रेडिट रेटिङको महत्वपूर्ण पक्ष यो हो । संसारभर रहेका लगानीकर्ताहरुलाई आग्रह गर्न चाहन्छु, नेपाल साँच्चै नै लगानीका दृष्टिकोणले सुरक्षित मुलुक हो । यहाँ लगानी गर्नेहरुले राम्रो प्रतिफल आर्जन गर्नसक्छन् । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुनुस् भनेर संसारभरका निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कन्ट्रि रेटिङमा नेपालले डबल बी माइनसको रेटिङ पाएको र यो दक्षिण एशियामा अनुकुल नतिजा रहेको बताए । उनले क्रेडिट रेटिङको नतिजा प्रकाशित गर्ने मात्र नभएर आउने दिनमा प्रत्यक्ष वैदेशिक लगानीका निम्ति अनुकुल हुने परिस्थिति निर्माण गर्न कानूनी र संरचनागत सुधार गर्न तयार रहेको बताए । आफूहरु बिबि माइनसमा मात्रै चित्त बुझाएर नबस्ने भन्दै क्रमशः आगमी दिनमा सबल र सुदृढ बनाउने दाबी समेत गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update