नुवाकोट । मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा मतदातासमक्ष आफ्नो मत माग्दै नेपाली काँग्रेसले ककनी–२ मा प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ। नेपाली काँग्रेस ककनी वडा नं २ का वडा अध्यक्षका उम्मेदवार सूर्य तामाङ जिम्बाले विगतको काँग्रेसको धरोहर कायम राख्दै अधुरा कामहरू पूरा गर्ने उद्देश्यले वडावासीको चाहनालाई सम्बोधन गर्दै प्रत्येक मतदाताको घरदैलोमा पुग्ने अभियान सञ्चालन गरिरहेका छन्।
२०७९ को स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसका उम्मेदवार तिलक तामाङले विजय हासिल गरेका थिए। तामाङको अधुरा कामलाई सम्पन्न गर्न र वडाको समग्र विकासका लागि नेपाली काँग्रेसले सूर्य तामाङ जिम्बालाई वडा तथा पालिका स्तरीय बैठकबाट सर्वसम्मत उम्मेदवार चयन गरेको हो। तामाङ स्वच्छ र इमान्दार युवा नेताका रूपमा परिचित छन्।
तामाङको प्रतिबद्धता
वडा अध्यक्षका उम्मेदवार सूर्य तामाङ जिम्बाले भने, “काँग्रेसको जनलहर देखेर म अत्यन्त उत्साहित छु। वडाबासीले देखाएको माया र भरोसाले हाम्रो जित सुनिश्चित गरिसकेको अनुभूति भइरहेको छ। कार्यकर्ताहरूको उत्साहजनक सहभागिताले हामी राम्रो मतसहित विजय हासिल गर्नेछौँ।”
विकासको अभाव र भ्रष्टाचारको विरुद्ध जनलहर
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भए पनि पाँच वर्षको अवधिमा वडाबासीले चाहेको विकास हुन सकेन। हरेक विकासका कामहरूमा विभेदपूर्ण व्यवहार देखियो। आफू नजिकका व्यक्तिहरू मार्फत उपभोक्ता समिति गठन गरी विकास बजेटमा चरम भ्रष्टाचार भयो। पक्षपातपूर्ण ढंगले भएका यस्ता कामले वडामा काँग्रेसप्रति आकर्षण र समर्थनको लहर फैलाएको छ।
तामाङको योजना र जिम्मेवारी
विगतको विभेदकारी कामले काँग्रेसका उम्मेदवारलाई थप जिम्मेवार बनाएको छ। वडाबासीको चाहना र आवश्यकताको आधारमा निष्पक्ष तथा पारदर्शी रूपमा काम गर्दै तामाङले जनताको मन जित्नुपर्नेछ। समृद्ध र विकसित वडा निर्माण गर्ने तामाङको योजना र कार्यकौशलताले पक्कै सार्थकता पाउनेछ। वडाबासीको सुख–दुखमा साथ दिँदै आफूलाई अब्बल अध्यक्षका रूपमा स्थापित गर्न तामाङको प्रयास फलदायी हुनेछ।