News 24 Television
बैशाखीले नरोकिएका मेचीनगरका मेयर 

झापा । झापाको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी योजना अनुगमनका क्रममा घाइते भएकाले करिब दुई महिना देखि बैशाखीको सहारामा काम गर्दैछन् । 

उनै घाइते मेयर बुढाथोकी बिहीबार कम्पनीले बर्षौदेखि हडपेको १० विगाहा भन्दा बढी सरकारी जग्गा खाली गराउन पुगे उपमेयरसहितका जनप्रतिनिधि, स्थानीय र नगर प्रहरीको सहयोग लिएर ।

नकलबन्दा टि स्टेटले बर्षौ देखि सरकारी स्वामित्वमा रहेको १० बिगाहा ५ कट्ठा ७ धुर जग्गा हडपिरहेकोमा उक्त जग्गा नगरपालिकाको बोर्ड राखि खालि गराउन शुरुवात गरेको हो । त्यहिक्रममा मेयर बुढाथोकीले अदालत र नगरपालिकाको निर्णय सुनाउँदै घोषणा गरे ‘मेचीनगर नगरपालिकाले सरकारी जग्गा संरक्षण कार्यको थालनी गरेको छ।

meyar-6-1732243966.JPG
सरकारी स्वामित्वमा रहेको जग्गा बर्षौ देखि टि स्टेटले ओगटीरहेकोमा नगरपालिकाले पटक पटक उक्त जग्गा खाली गराउन पत्राचार समेत गरेको थियो । तर पत्रको अवज्ञा गर्दै अटेर गरि टि स्टेटले भोगचलन गरिरहेकोले उक्त जग्गा खाली गराउनु परेको मेचीनगरका मेयर बुढाथोकीले जनाएका छन् ।

मेचिनगर ५ स्थित उक्त जग्गा २०४८ असोज २५ गते कानुन विपरित छुट जग्गा दर्ताको निर्णय पर्चाबाट दिनेशप्रसाद कानुको नाममा गएको थियो । सोही जग्गा २०५५ असोज ११ मा नकलबन्दा टि स्टेटको नाममा नामसारी भई उसैले भोगचलन गरिरहेको थियो ।

नेपाल सरकार स्थानीय प्रशासन ऐन २०२८ को दफा १० मा उल्लेखित सार्वजनिक जग्गा, पार्टी, पौवा, सत्तल, पार्क, पोखरी, कुवा, गौचर आदिको लगत राख्ने, कसैले त्यस्तो सरकारी वा सार्वजनिक जग्गा सम्पत्ति दर्ता गराएको भए बदर हुने र त्यसमा हदम्याद समेत नलाग्ने व्यवस्था गरेको छ ।

meyar-3-1732243985.JPG
यहि आधारमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको निर्णय कानुन विपरित भएको निवेदन परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६६ मंसिर २२ मा उक्त जग्गा सरकारी नै ठहर्ने निर्णय गरेको थियो । सोहि निर्णयलाई टेकेर मातपोत कार्यालय भद्रपुरले २०६६ पौष ६ गते उक्त जग्गामा व्यक्तिको हक हिस्सा हटाउँदै सरकारी कायम गरेको थियो ।

यसरी सरकारी कायम जग्गा अटेर गरि भोगचलन गरिरहेको र स्थानीय सरकार सन्चालन ऐनको परिच्छेद १३ मा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, संरक्षण, मर्मत सम्भार तथा अन्य प्रवन्ध गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । त्यसैलाई आधार मानी नगरपालिकाले यसको संरक्षण गर्ने निर्णय गरेको मेयर बुढाथोकीले बताएका छन् ।

सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्मा व्यक्तिको पनि हो उनले भने, ‘मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ८ मा उल्लेखित राष्टिय तथा सार्वजनिक सम्पदा विरुद्धका कसुरमा सरकारी वा सार्वजनिक सम्पत्तिको अतिक्रमण, आवाद गर्न नपाइने र त्यसो गरेमा व्यक्तिलाई कारवाही हुने स्पष्ट व्यवस्था समेत गरेको छ । त्यति हुँदा पनि कम्पनीले अटेर गरेकाले हामीले जग्गा खाली गराएका हौं ।’

मेचिनगरमा यस्ताखाले धेरै सरकारी, सार्वजनिक जग्गाहरु विभिन्न फर्म, कम्पनी र व्यक्तिहरुले समेत भोगचलन गर्दै आइरहेकाले सबै खाली गराउन लाग्ने समेत मेयर बुढाथोकीले बताएका छन् ।

अब यस जग्गालाई आवश्यक छलफल गरि भरपुर सदुपयोग गर्ने गरि नगरपालिका लाग्ने उनले बताए । यता स्थानीयबासीले पनि नगरपालिकाको यो कदम स्वागतयोग्य रहेको बताएका छन् । अनुमानि बिना सरकारी जग्गा हडप्ने कार्य गलत भएको स्थानीय रामबहादुर राईको भनाइ छ । उनले यस जग्गाको स्थानीय सरकारले आवश्यक प्रक्रिया पूरा गरि यथाशीघ्र सदुपयोग गर्नुपर्ने बताए । 

meyar-1732244001.JPG
सरकारी जग्गा सरकारी तबरबाट उपभोग गरिएको भए धेरै राम्रो हुनेथियो । तर यसरी प्राइभेट कम्पनीले जग्गा हडप्दा समाज र देशलाई नै घाट भइरहेको अर्का स्थानीय रविन राउत बताउँछन् । 

यस क्षेत्रका समग्र स्थानीयले नगर प्रमुख बुढाथोकीको यो कदम प्रशंसनीय रहेको बताएका छन् । साथै अन्य क्षेत्रमा भएका यस्ता सरकारी जग्गा पनि चाडैं नगरपालिकाले सरकारको मातहतमा ल्याउन आग्रह गरे । 

उक्त कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, विभिन्न वडाका वडाध्यक्षलगायतका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, नगर प्रहरी, समाजसेवीलगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update