News 24 Television
माओवादी लगायतका प्रतिपक्ष दलको सातो लिन एमालेको जागरण सभा

काठमाडौं । सरकारका काम कारबाहीप्रति प्रतिपक्ष दलबाट चौतर्फि आलोचना र आक्रमण हुन थालेपछि सत्ताको नेत्तृत्व गरिरहेको एमाले रक्षात्मक अवस्थामा पुगेको छ । 

आफै सरकारको नेत्तृत्व गरिरहँदा व्यवहारिकरुपमा जायज नदेखिए पनि एमालेले प्रतिपक्षी दलहरुलाई चेतावनी दिन मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । तर, एमालेले शक्ति प्रदर्शनलाई कुनै दललक्षित नभएर पछिल्लो समय बढ्दै गइरहेको बेथितिविरुद्ध भनेको छ । 

सुशासन, स्थायित्व र विधिको शासनबिरुद्ध केहि राजनीतिक दल र समुहहरु लागि परेको आरोप लगाउँदै त्यसको विरुद्धमा भन्दै नेकपा एमालेले शुक्रवार काठमाडौँमा जागरण सभाको नामका शक्ति प्रदर्शन गर्दैछ । 

त्यसो त सरकारले गरिरहेको कामकारबाहीप्रति प्रतिपक्ष दल त के नागरिक समेत सन्तुष्ट छैनन् । असोजमा गएको बाढीपहिरोमा उद्दार र त्यसपछि उद्दार र पीडितको उचित व्यवस्थापनमा चुकेको भन्दै सरकारको चर्को आलोचना भयो । तर सरकारविरुद्ध हुने प्राय सबै आलोचनालाई सरकारको नेत्तृत्व गरिरहेको एमालेले प्रतिपक्ष दलहरुको षडयन्त्र ठानेको छ । 

त्यसैले पनि प्रतिपक्ष दलहरुको सातो लिनेगरी शक्ति प्रदर्शन गर्ने तयारी एमालेले गरेको हो । सरकारमै हुँदाहुँदै पनि प्रदर्शनको नाममा एमालेले आफु सरकारमा कि प्रतिपक्षमा भन्ने भुलेको आरोप लागिरहँदा एमाले नेताहरु भने दलका नेताहरुबाटै विधिको शासनलाई उल्लङ्घन गर्ने, कानुनी राज्य नमान्ने र अराजकतातर्फ मुलुक उन्मुख गराई देशलाई पुनः द्वन्द्वमा लैजाने काम भएकाले बाध्य भएर जागरण सभा गर्नु परेको तर्क पेश गर्छन् ।  

पछिल्लो समय संविधान र प्रणाली नै नमान्ने भन्दै मुलुकमा जातीय र सामाजिक सद्भाव भड्कने गरी गतिविधिहरु भइरहेकको पनि एमालेले आरोप लगाएको छ । त्यसैले पनि  सडकबाटै खबरदारी गर्नु पर्ने अवस्थामा एमाले पुगेको नेताहरु बताउँछन् । 

प्रतिनिधिसभामा स्पष्ट बहुमत कुनै पनि दलको नभएका कारण सत्ताको बार्गेनिङ गर्दै पटक पटक सरकार परिवर्तनको खेल भइरहेको र त्यसैबाट मुलुकलाई पार लगाउन एमाले र कांग्रेस मिलेर सरकार बनाएको एमालेको दाबी छ । 

एमाले कांग्रेस एकैठाउँमा आएपछि माओवादी लगायतका साना दलहरुको सरकार ढाल्ने र नयाँ बनाउने खेतीपाती बन्द भएको एमालेले जिकिर गरेको छ । सत्ताबाट बाहिरिएपछि पुनः सजिलै सत्तामा आउन सक्ने अवस्था नभएपछि छटपटिएका प्रतिपक्ष दलहरुले सरकारका कामहरुको दुष्प्रचार गरिरहेको र आन्दोलन चर्काउने धम्की दिएको एमाले नेताहरु बताउँछन् । 

त्यसैलाई जवाफ दिन पनि जागरण सभाको नामका शक्ति प्रदर्शन गर्नै पर्ने बाध्यतामा पुगेको एमालेले दाबी गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update