झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गर्नेमाथि डोजर चलाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको टोलिले विहीबार सरकारी स्वामित्वमा रहेको तर, नकलबन्दा टि–स्टेटले वर्षौंदेखि कब्जा गरि प्रयोग गरिरहेको दश विगाहाभन्दा बढी सरकारी जग्गामाथिको अतिक्रमण हटाएको हो ।
झापाको मेचीनगर नगरपालिकाले सरकार स्वामित्वमा रहेको अतिक्रमित जग्गामाथिको अतिक्रमण हटाएको छ । मेचीनगर ५ स्थित प्राइभेट कम्पनी नकलबन्दा टि–स्टेटले बर्षौदेखि सरकारी स्वामित्वमा रहेको जग्गा प्रयोग गर्दै आएको थियो । यो जग्गा आफुखुसी ओगटी रहेको पाइएपछि बारम्बार ताकेता गर्दापनि कम्पनीले जग्गा छोडेको थिएन ।
अन्तत अहिले नगरपालिकाले बल प्रयोग गरि सरकारी स्वामित्वको १० बिगाह ५ कठ्ठा ७ धुर जग्गामाथिको अतिक्रमण हटाएको हो ।
नगरपालिकाले नकलबन्दा टि–स्टेटलाइ विभिन्न मितिमा सरकारी जग्गा खाली गरिदिन पत्र पठाइएकोमा त्यसलाई टि–स्टेट व्यवस्थापन समितिले बेवास्ता गरेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख बुढाथोकीले झापा साविक नकलबन्दा ७ का २२ वटा कित्ताहरु मालपोत कार्यलय झापा भद्रपुरको २०४८ असोज २५ छुट जग्गा दर्ताको निर्णय पर्चाबाट दिनेश प्रसाद कानुको नाममा दर्ता भएको र दर्तावाल दिनेश प्रसाद कानुले उक्त जग्गाहरु २०५५ साल असोज ११ को राजिनामबाट नकलबन्दा टि. स्टेट लाई बिक्रि गरिएको हो ।
नकलबन्दा टि.स्टेटको नाममा कायम हुन गएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंङ्गाल काठमाडौले २०६६ साल मंसिर २२ गतेको निर्णय कार्यन्यन गर्ने सम्बन्धि पत्र तथा सोहि पत्र बमोजिम मालपोत कार्यालय भद्रपुरको २०६६ साल पुस ६ गते को सदर टिप्पणीले नकलबन्दा टि स्टेटको नाममा कायम जग्गा बदर गरि नेपाल सरकारको नाममा कायम हुन गएको व्यहोरा मालपोत कार्यालय झापाले नगरपालिकालाई जानकारी गराएको थियो ।
नगरपालिकाले सरकारी जग्गा संरक्षणका लागि थालेको यो कदमको स्थानीयले प्रशंसा गरेका छन् । पैसा र शक्तिको भरमा सरकारी जग्गा हडप्ने कार्यलाई स्थानीय सरकारले निरुत्साहित गर्दै अन्य जग्गा संरक्षण अभियानमा थप प्रभावकारिता देखाउनु पर्ने उनीहरुको सुझाव छ ।
वर्षौसम्म जग्गा अतिक्रमण गरिरहेको कम्पनी अन्तिम समयमा भने सम्पर्कमा नै आएको छैन । जग्गा खाली गर्न पटक पटक अटेरी गरेकाले सरोकारवालहरु सबैको संलग्नतामा अतिक्रमण हटाइएको हो । मेची नगरमा रहेका अन्य सरकारी जग्गा समेत खोजविन गरि संरक्षण गर्ने नगरपालिकाले जनाएको छ ।