काठमाडौं । पछिल्लो समय औषधि पसलमा फर्मासिस्ट नबस्नेदेखि डाक्टरको प्रेस्किप्सनबिना औषधी विक्रिवितरण गर्ने गरेको तथ्य बाहिरीने गरेको छ ।
मानव स्वास्थ्यसँग सम्बन्धित औषधी जस्तो संवेदनशील वस्तु विक्रिवितरणमा औषधीका विषयमा जानकार व्यक्ति नबस्दा गलत औषधी विक्रिवितरण हुने जोखिम बढाएको छ । यसैलाई रोक्नका लागि नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेदेखि फर्मासिस्टलाई एप्रोन अनिवार्य गरेको छ । परिषद्को निर्देशन नमान्नेलाई कारवाही गर्ने समेत चेतावनी दिइएको छ ।
सहि औषधीको प्रयोग मानव जीवनका लागि अमृतसरह हुने गर्दछ । तर त्यहि औषधीको गलत प्रयोग भएमाले मान्छेको ज्यानसमेत जाने गर्दछ ।
औषधि पसल तथा फार्मेसीहरुमा औषधिकै नचिनेका ब्यक्तिहरु राखिदा यो जोखिम बढीरहेको छ । यसैका कारण बेलाबेलामा विभिन्न समस्या उत्पन्न हुने गरेका छन् । यस्तो गुनासो बढ्दै गएपछि नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेदेखि लागू हुने गरी नयाँ नियम बनाएको छ ।
परिषद्ले औषधी डिस्पेन्सिङमा कार्यरत फर्मसिस्टले हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर सहितको एप्रोन तथा फार्मेसी सहायकलाई नीलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेखित एप्रोन लगाउन अनिवार्य गरेको छ ।
विश्वमा औषधि नपाएर भन्दा जथाभावी औषधि खाएर स्वास्थ्यमा समस्या निम्तिएको विभिन्न अध्ययनले समेत देखाएको छ । औषधी पसलमा फर्मासिस्ट नबस्ने समस्याकै कारण डाक्टरको प्रेस्किप्सनमा मात्र विक्रिवितरण गर्नुपर्ने एन्टिवायोटिक जस्ता औषधीको विक्रिवितरण समेत मनपरी हुने गरेका छन् ।
डब्लुएचओका अनुसार डाक्टरको प्रेस्किप्सनबिना एन्टीबाइटिक औषधी विक्रिवितरण भएकै कारण यस्ता औषधीको गलत प्रयोगले हरेक वर्ष विश्वमा ७ लाखको मृत्यु समेत हुने छ । औषधी सम्बन्धित ज्ञान भएका फर्मासिस्टले मात्रै औषधि विक्री वितरण गर्न पाउने कानूनी ब्यवस्था छ ।
त्यसैले औषधी पसलमा रहेको फर्मासिस्टलाई आम नागरिकले चिन्ह सहज होस् भनेर नै परिषद्ले नयाँ ब्यवस्था गरेको हो । तर एप्रोनको दुरुपयोग रोक्न अनुगमनलाई समेत प्रभावकारी बनाइने परिषद्ले जनाएको छ ।
औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले औषधि चिकित्सकको सल्लाहबमोजिम बिक्रि वितरण गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले गर्नु पर्नेछ ।
फर्मासिस्ट, फार्मेसी सहायक वा मान्यता प्राप्त मेडिकल व्यवसायी बाहेकले त्यस्तो औषधि बिक्रि वितरण गर्दा पनि उपस्थिति भने अनिवार्य गरिएको छ ।
नेपाल फार्मेसी परिषदले यसअघि पनि औषधी डिस्पेन्सिङमा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकले एप्रोन लगाउँनु पर्ने नियम लगाएको थियो । तर यसअघि लागु गरेको निमय फर्मासिस्टले नै पालना गरेनन् । न त ब्यवसायीले नै यसतर्फ ध्यान दिए ।
परिषद्बाट लागु गरिको निमय पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने समेत परिषद्ले जनाएको छ । तर अहिले पनि परिषदको निर्देशन पालना नहुने र परिषद्को एप्रोन दुरुपयोग नहोला भन्न सकिँदैन ।
यसतर्फ परिषद् मात्र होइन, फार्मेैसी सञ्चालकहरु पनि जवाफदेही बन्न जरुरी छ ।