दोलखा । नेपालमै पहिलोपटक किवी फल उत्पादन गर्ने क्षेत्रको रूपमा चिनिन्छ दोलखा जिल्ला । तर अहिले दोलखामा किवीको उत्पादन बढेसँगै बजार भने खुम्चदै गएको छ ।
अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए । तर उत्पादनसँगै भण्डारण र बजारीकरणको समस्याका कारण किसान चिन्तित बनेका छन् ।
दोलखाको भिमेश्वर र जिरी नगरपालिका र कालिन्चोक, सैलुङ्ग गाउँपालिका किवीका पकड क्षेत्र हुन् । यी बाहेक मेलुङ, बैतेश्वोर, विगु लगायतका क्षेत्रमा पनि किवीको उत्पादन राम्रो छ । भिमेश्वर नगरपालिका ६ स्थित श्याम खड्काले स्विस नागरिक इन्जिनियर जे एफ म्यासीको सहयोगमा नेपालमै पहिलोपटक किवीको बिरुवा लगाएका थिए ।
२०४४ सालमा उनले थाहै नपाई स्विस नागरिकले हेवर्ड नामको किविको बिरुवा रोपेर गएका थिए । ३७ बर्ष अघि रोपिएको उक्त किवीको विरुवाबाट अहिले पनि फल उत्पादन भइरहेको छ ।
खड्काले किवी फलाउनेदेखि विरुवा उत्पादनको काम समेत गर्दै आएका छन् । तर पछिल्लो समय किवी उत्पादनमा वृद्धि भएपनि उचित भण्डारणको समस्याका कारण अन्य किसानजस्तै खड्का पनि चिन्तित बनेका छन् ।
चालु आर्थिक बर्षमा दोलखाका विभिन्न क्षेत्रमा करिब २ हजार ७ सय ६३ मेट्रिक टन किवि उत्पादन हुने अनुमान गरिएको छ ।
यहाँ उत्पादित किवि देशभर पुग्ने गर्छ । तर अहिले देशका अन्य क्षेत्रहरुमा पनि किवी खेती हुन थालेपछि दोलखामा उत्पादन हुने किवी निर्यातमा कमी आएको छ । दोलखाको किवि अग्र्यानिक र रसिलो हुने ग्राहक बताउँछन् ।
उत्पादनका सुरुवाती बर्षहरुमा केजीको ५०० रुपैयासम्म बिक्री हुने किवि अहिले भण्डारण गर्ने स्थान नहुदा ८० रुपैयाँ प्रति केजीसम्म ब्यापारीहरुलाई बेच्न किसान बाध्य भएका छन् भण्डारण नहुँदा किवी किनिदिनु प¥यो भन्दै किसान आउने गरेको व्यापारी बताउँछन् ।
यता जिरीमा भने रेड पाण्डाले दुख दिएर सोचेको जस्तो किवी उत्पादन गर्न नसकिएको र उत्पादन गरिएका किवि पनि सस्तोमा बेच्नु पर्दा किसान निराश छन् । त्यसमाथि उत्पादन भएको किवी पनि सस्तोमा बेच्नुपर्दा किसान मारमा परिरहेका छन् ।
नेपालकै पहिलो किवि क्षेत्र दोलखामा किवि उत्पादन बढेसँगै बजार खुम्चिएका कारण कृषकहरुमा निराशा छाउनु स्वभाविक हो ।
यता, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ रामेछाप जोन प्राबिधिक दोलखाले भने किसानका सहयोग पुग्छ भनेर अनुदानको लागि रकम छुट्टाइएको बताएको छ ।
ठूलो क्षेत्र र लगानीका साथ किवीको उत्पादनमा लागेका किसानहरुका लागि ग्रेड छुट्याउदै भण्डारका साथै बजार व्यवस्थापनमा तीनै तहका सरकारले तत्काल ध्यान दिज जरुरी छ ।