News 24 Television
२६ वर्षमा पनि बन्न नसकेको कबर्ड हल, नेताहरुका कुरा मात्रै ठूला !

दार्चुला । दार्चुलामा २०५६ सालमा शुरु गरिएको कबर्ड हल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आफ्नै पहलमा वि. सं. २०५६ सालमा कबर्ड हल बनाउन शुरु गरेका थिए । तर निर्माण सुरु गरिएको २६ बर्षसम्म पनि कवर्ड हल निर्माणाधीन अवस्थामै छ । 

कबर्ड हलको अवस्था जे जस्तो भएपनि जस लिनमा दलहरुबीच देखिएको तछाडमछाडले निर्माण कार्य अझै लम्बिने भने निश्चित छ । 

सुदुरपश्चिम प्रदेशको दुर्गम जिल्ला दार्चुलामा खेलकुद बिकासको लागि एउटा पनि कर्ड हल छैन । यही अभावलाई महशुष गर्दै प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले २०५६ सालमा कबर्ड हल निर्माणको थालनी गरेका थिए जुन २०८१ सम्म आईपुग्दा पनि पुरा हुन सकेको छैन । 

अलि अलि बनिरहेको कबर्ड हल पनि २०७० सालमा आएको बाढीले आधा भाग बगाएर लगेपछि कबर्ड हल पुरा गर्ने तर्फ कुनै पहल भएको छैन । तर अहिले सांसद बडुले महाकालीको बाढीले बगाएर बाँकी रहेकै स्थानमा कबर्ड हल बनाउनु पर्छ भनेर अडान लिएपछि निर्माण कार्य अनिश्चित बनेको छ । 

त्यसो त जिल्ला सदरमुकाम खलंगामा रहेको यही एकमात्र खुलामञ्चलाई मासेर कबर्ड हल बनाउन स्थानीय राजनीतिक दल, खेलाडी, ब्यापारी, बुद्दिजिवि र स्थानीय कोही पनि सहमत छैनन् । खुलामञ्च मासेर कबर्ड हल बनाउने कि विकल्प खोज्ने भन्ने नयाँ विवाद शुरु भएको छ । 

जिल्ला खेलकूद विकास समितिका सचिव श्यामराज अवस्थीले आफु खेलाडी भएको बेला कबर्ड हलको काम शुरु भएपनि अझै पूर्ण नसकेकोमा दुख ब्यक्त गरेका छन् ।  

यता नगरपालिका भने यहि आर्थिक वर्षमा बनाउने तर र पहिलेकै स्थानमा बनाउने आफ्नो योजना नभएको बताउँछ । पहिलेकै ठाउमा बनाउँदा झन धेरै समस्या आउने नगरपालिकाको बुझाइ छ । 

दार्चुला जिल्लामा कबर्ड हल जत्तिकै खुल्लामञ्चको पनि त्यति कै आवश्यकता छ । तर सांसद बडु भने पुरानै ठाउँमा बनाउन सर्वपक्षीय सहमति भइसकेको दाबी गर्छन् । 

प्रदेशमै एउटा पनि कबर्ड हल नभएको अवस्थामा दुर्गम जिल्ला दार्चूलामा बनाउन खोज्नु सकरात्मक नै हो । तर, सबैसँग समन्वय गरी उचित स्थानमा कबर्ड हल बनाए चाँहि सबैभन्दा प्रभावकारी देखिन्छ । त्यसैले राजनीतिक खिचातानीले जुँगाको लडाइ गर्नुभन्दा सबैभन्दा उचित विकल्प छनोट गर्नु नै कबर्ड हल निर्माणका लागि उचित हुन्छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update