News 24 Television
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भारतको कर्के नजर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने तयारी गरिरहँदा भारतीय नेता तथा उच्च अधिकारीहरुमा भने बेचैनी बढिरहेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति जति छोटिदैछ, त्यो भन्दा तीव्ररुपमा नेपालमा भारतीय अधिकारीहरुको सक्रियता बढिरहेको छ । 

नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट नै गर्ने अनौपचारिक नजिर जस्तै बनेको छ । तर यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्दैछन् । 

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएसँगै नेपालमा रहेका भारतीय अधिकारीको चहलपहल बढ्न थालेको छ । नेपालमा रहेका दुतावासदेखि अन्य एजेन्सीहरु पनि अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर सक्रिय मात्रै भइरहेका छैनन्, उच्चस्तरीय भेटघाटलाई पनि तीव्रता दिइरहेका छन् ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले आफ्नो दौडधुपलाई ह्वात्तै बढाएका छन् । उनी अप्रत्यक्षरुपमा प्रधानमन्त्री ओलीको भ्रमणका बारेमा विभिन्न दलका नेताहरुसँग सूचना लिने काम गरिरहेका छन् । 

भारतीय राजदुत श्रीवास्तवले गएको मंगलवार मात्रै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे । नेपाल जानकारका रुपमा चिनिएका भारतीय जनता पार्टीका नेता विजय जोली पनि यतिबेला नेपालमै छन् । जोली काठमाडौँमा राजनीतिक भेटघाटमा व्यस्त छन् । 

जोली भाजपाको विदेश विभाग प्रमुखसम्म भइसकेका नेता हुन् । हाल उनी भाजपाको औपचारिक जिम्मेवारीमा छैनन् । तर नेपालका विभिन्न दलका नेताहरुसँग भेट गर्न उनलाई भाजपाले नै पठाएको बुझिएको छ । 

त्यसैगरि भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक अमृतमोहन प्रसाद पनि नेपाल आएर फर्किसकेका छन् । 

नेपाल बसाईका क्रममा उनले पनि भेटघाटलाई बाक्लो बनाए । कात्तिक ३० गते नेपाल आएका अमृतमोहन मंसिर २ गते सीमा सुरक्षा बैठक सकाएर फर्किसकेका छन् ।  

भारतीय मिडियामा चासो !

प्रधानमन्त्री ओलीले गर्न लागेको चीन भ्रमणमा भारतीय मिडियाहरुले निकै चासो देखाएका छन् । नेपालका प्रधानमन्त्री ओली परम्परा तोड्दै पहिलो औपचारिक भ्रमणका लागि चीन जाँदैछन् भनेर द इण्डियन एक्सप्रेसले समाचार बनाएको छ । उता द हिन्दुले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणको बारेमा समाचार बनाएको छ ।

भारतबाट निमन्त्रणा नआएपछि नेपालका प्रधानमन्त्री ओली पहिलो औपचारिक भ्रमणका लागि चीन जाँदै भनेर लेखेको छ । भारतीय मिडियाहरुमा आइरहेका यस्ता समाचारलाई अनावश्यक रोदन भन्दै चीनको द ग्लोबल टाइम्सले पनि काउन्टर समाचार लेखेको छ । 

एउटा सार्वभौम राष्ट्रको सरकार प्रमुख कुनै अर्को देश जाँदैमा सोकल्ड परम्परा भत्कियो भन्ने आशयको समाचार भारतीय मिडियाहरुले बनाइरहेको भन्दै कटाक्षको रुपमा द ग्लोबल टाइम्सले लेखेको छ । 

प्रचण्डको छुद्रता !

नेपालभित्रै पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणको बारेमा धेरै चासो र चियोचर्चा भइरहेको छ । यसमा सबैभन्दा अगाडि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् । 

ओलीको चीन भ्रमणलाई लिएर उनले भारतीय मिडिया द हिन्दुमा आक्रोश र असन्तुष्टि समेत पोखिसकेका छन् । भारतभन्दा अघि चीन जानु हुँदैन थियो भन्ने आशयले उनले भारतीय मिडियामा दिएको अन्तरवार्ताको नेपालमा चर्को आलोचना मात्रै भएन, सामान्य कुटनीतिक मर्यादाको समेत ख्याल गर्न नसक्ने नेताको रुपमा प्रचण्ड चित्रित भए । 

प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको आरोप लगाउँदै प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौम राष्ट्रको नीति विपरित र भारत रिझाउनका लागि बोलिएको भन्दै एमालेले त्यसको खण्डन पनि ग¥यो । 

देशकै प्रमुख प्रतिपक्षी दलका नेताले नै यस्तो गम्भिर आरोप लगाएपछि भारतीय पक्ष थप चनाखो बन्यो । अहिले उनीहरु प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि तय भएको चीन भ्रमणलाई लिएर दलका नेतासँग भेटघाट गर्ने र चीनसँग हुन सक्नेसम्झौता बारे खुलेरै चासो राखिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update