News 24 Television
पहिरोमा ज्यान गुमाएका फुटबलरका परिवारले पाएनन् न्याय, उत्रिए आन्दोलनमा

काठमाडाैँ । सिस्नेरीको पहिरोमा परेर ज्यान गुमाएका एन्फा एकेडेमीका प्रशिक्षार्थी फुटबलरका अभिभावकले न्याय नपाएकाे भन्दै आन्दोलन शुरु गरेका छन् । उनीहरूले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय अगाडि आन्दोलन शुरु गरेका हुन् । 

ज्यान गुमाएका फुटबलरका परिवारले सिस्नेरी घटनाबारे उच्चस्तरीय छानबिन गर्न माग राख्दै एन्फा एकेडेमी अगाडि धर्नामा उत्रिएका हुन् । परिवारले एन्फामा नै ताला लगाएका थिए । करिव तीन घण्टापछि उक्त ताला खोलिएको थियो ।

एन्फा र सम्बन्धित निकायले आफ्नो माग सुनुवाई नगरेका धर्नामा बस्नुपरेको उनीहरूको भनाइ छ । प्रहरीको दमनबीच पीडित परिवार एन्फाको मुल ढोकामा ताला लगाएर धर्ना बसेका थिए । लापरवाही भएकाले ६ अबोध बालकले ज्यान गुमाउनुपरेको पीडित परिवारले आरोप लगाउँदै आएका छन् ।

पीडित अभिभावकले प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुदमन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्याय माग राखेको झन्डै दुई महिना भैसकेको छ । तर, सुनुवाई नभएपछि बाध्य भएर एन्फामा नै आन्दोलन गर्नुपरेको बताए । 

उनीहरूले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना बस्ने बताएका छन् । न्याय नपाएसम्म आफूहरूको आन्दोलन जारी राख्ने पीडित परिवारले चेतावनी दिएका छन् । बिहीवार उनीहरूको आन्दोलन हुँदा एन्फा मुख्यालयको मैदानमा एन्फा यु–१८ युथ लिग चलिरहेको थियो । जावलाखेल र खुमलटारबीचको पहिलो खेल अवरोधबीच नै शुरु भयो । दोस्रो खेल मनाङ मस्र्यायाङ्दी र थ्री स्टारबीच थियो । खेलाडी करिब एक घण्टा सडकमै बसेका थिए । 

बिहीवार प्रहरीको समझदारीबीच पीडित परिवारले धर्नालाई टुंग्याए । गत असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाका कारण मकवानपुरस्थित सिस्नेरीमा रहेको एन्फा एकेडेमीका फुटबलर ज्यान गुमाएका हुन् । सुरक्षित स्थानमा जाने क्रममा पहिरोमा परी ६ जना बालकले ज्यान गुमाएका थिए ।

उक्त पहिरोमा प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योन्जन, आदित्य बलम्पाखी र विवश बानिँयाले ज्यान गुमाउनु परेको थियो । पीडित परिवारले भने व्यवस्थापनको कमजोरीका कारण आफ्ना सन्तानले ज्यान गुमाउनुपरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update