काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा व्यापक हेरफेरको प्रस्तावसहित कांग्रेसले अनौठो प्रस्ताव पेश गरेको छ । मन्त्रीको कार्यसम्पादन क्षमतादेखि अनेक विषय उठाउदै कांग्रेसले सेट नै फिर्ता बोलाएर नयाँ पठाउने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओली झस्किएका छन् । तर, के ओलीलाई कांग्रेसले दिएको यो प्रस्तावले सरकार सहज बनाउनेतर्फ केन्द्रित गर्न सहयोग पुग्ला ?
मन्त्रिपरिषद्को बैठक डाकेका प्रधानमन्त्री केपी ओलीलाई मंगलबार एकाएक राजनीतिक संयन्त्रको बैठक डाक्नुपर्ने स्थिति आइलाग्यो ।
ओलीले नसोचेको बैठक डाक्नुपरेपछि त्यो बैठक लामो समय चल्यो । तर, निर्णयमा भने पुग्न सकेन् । कांग्रेसले उच्च तहमा ओलीलाई सरकारको सेट नै फेर्ने प्रस्ताव राखेको छ । कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले मन्त्रीहरु पठाउने र अहिलेका धेरै मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी देखिन्छ ।
जुन विषय ओलीका लागि अपेक्षित विषय नै होइन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा आउने भन्ने विषय कांग्रेसको आन्तरिक विषय भएपनि यसलाई धेरै चलाउन खोज्दा समस्या निम्तिन सक्ने अर्थमा बुझेका छन् । यद्यपी कांग्रेसको आन्तरिक राजनीतिमा आएको बदलावले अब नयाँ कोर्ष समातिसकेको बताइन्छ ।
कांग्रेसमा फेरिदै समिकरण
शेखर कोइराला समूहमा रहेका गगन थापा पछिल्लो समय सभापति शेरबहादुर देउवाको क्याम्पमा पुगिसकेका छन् । देउवा क्याम्पमा पुगेपछि गगनले ओलीपछि अब देउवा प्रधानमन्त्री बन्ने सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।
यस्तोमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने देउवाले त्याग गर्नुपर्ने तर्क राखिरहेका छन् । देउवाले अब प्रधानमन्त्री बन्दिन भन्नुपर्ने भन्दै शर्माले फायर खोलेपछि गगनले चलाखीपूर्वक क्याम्प फेरे ।
शर्मा भने अहिले पनि आलोचनात्मक ढंगले नै अघि बढ्ने मनस्थितिमा देखिन्छन् । नेता शर्माले कांग्रेस केन्द्रिय समिति बैठकमै देउवालाई प्रधानमन्त्री पद त्याग गर्न सुझाव नै दिएका थिए । यस्तो त्यागपछि देउवाले झन्किदै त्यागको कुरा नगर्न समेत भनेका थिए ।
कांग्रेसको आन्तरिक राजनीति देउवा आगामी महाधिवेशनबाट सभापति नहुने पक्का भएसँगै फेरिन पुगेको हो । पार्टीको सर्वोच्च पदमा जानका लाि कांग्रेसमा हानाथाप स्वभाविक देखिन्छ ।
जुन विषयमा गगनले देउवालाई अंगाल्दा अब कांग्रेसको आन्तरिक समिकरण नै फेरिने बाटोमा छ । जुन संकेत देउवाले आफैसँग पार्टी संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेका गगनलाई सरकारको नेतृत्वसहित पठाएर गगनलाई उत्तराधिकारी बन्नसक्ने पात्रको रुपमा प्रोजेक्सन गर्न खोजिरहेका छन् । यसको संकेत देउवाले गगनलाई केहीदिन अघि मात्रै बनेको राजनीतिक संयन्त्रमा प्रवेश गराएर नै दिइसकेका छन् ।
गगनको ‘मूभ’
प्रधानमन्त्रीको तयारीमा रहेको दाबी गर्ने गगन थापा अहिले तत्काल प्रधानमन्त्री बन्ने कुनै आधार छैन । संसदीय दलको नेता बन्न नै कठिन रहेको बुझेका गगनले पार्टी सभापति बन्ने बाटो खोल्न देउवा क्याम्पमा पुग्दा देउवाले आफ्नो प्रतिष्पर्धी गगन होइनन् है भन्नलाई सरकारको नेतृत्वमा पठाउदा समेत जानुपर्ने स्थिति छ । तर, यसमा पनि गगनलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मासहित पठाउने तयारी चलेको बुझिन्छ । जुन तयारीले प्रधानमन्त्री ओलीलाई झस्काइदिएको छ । ओलीले देउवालाई यो विषयमा अझैंपनि परिपक्क ढंगले सोच्न आग्रह गरेको बताइन्छ ।
सरकारको भविष्यको चिन्ता
कांग्रेसले एकपछि अर्को मुभ चाल्न खोजेपछि प्रधानमन्त्री ओली त्रासमा छन् । सरकार के हुने हो भन्ने चिन्ता समेत बढेको देखिन्छ ।
कांग्रेसले गगनलाई सरकारमा पठाउने प्रयास भनेको पश्चिम र दक्षिण राष्ट्रहरुलाई नजिकन ल्याउने प्रयास गर्नुको अर्थमा लिइएको छ ।
जुन विषय ओलीलाई पछिल्लो समय धेरै समस्यामा पारिरहेको फ्याक्टरको रुपमा लिइएको छ । यसले गर्दा पनि ओली आफ्नो सरकार लामो समय जाँदैन कि भन्ने चिन्तामा स्वभाविक रुपमा परेका छन् ।