रुकुमपूर्व । हिमाली जिल्ला रुकुम पूर्वमा गठबन्धन गरेका कांग्रेस–एमालेले वडाध्यक्षको उम्मेदवारी फिर्ता लिएका छन् । वडाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रले निर्विरोध वडाध्यक्ष पद जितेको छ भने पालिका उपाध्यक्षमा माओवादी केन्द्र र एमालेबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।
गठबन्धन गर्दै नगर्ने भनिरहेको नेपाली कांग्रेस र गठबन्धन नगरी एक्लैले बहुमत ल्याउने दाबी गरिरहेको नेकपा एमालेले रुकुम पूर्वमा गरेको रोचक गठबन्धन पुथा उत्तरगंगा गाउँपालिकाको वडाध्यक्ष पदको चुनावमा भने गलेको छ ।
कांग्रेस एमाले मिलेर एमालेबाट उम्मेदवार बनेका जीवन रोकाले उम्मेदवारी नै फिर्ता लिएका छन् । जीवनले उम्मेदवारी फिर्ता लिएपछि एमाले रुकुम पूर्वले भने धोका भएको दाबी गरेको छ ।
एमालेले जीवनले धोकापूर्ण ढंगले उम्मेदवारी फिर्ता लिएको आरोप लगाएपनि रोकाले उम्मेदवारी फिर्ता लिने विषयलाई माओवादी केन्द्रका निर्विरोध निर्वाचित उम्मेदवार जगत घर्ती ’काजु’माथिको सम्मानको रुपमा अर्थ्याएका छन् । रोकाले उम्मेदवारी फिर्ता लिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जगतलाई निर्विरोध निर्वाचित भएको घोषणा नै गरेको छ ।
निर्विरोध निर्वाचित भएको घोषणापछि नवनिर्वाचित वडाध्यक्ष जगत घर्तिले क्षमताले भ्याएसम्म जनताको सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
कांग्रेस एमालेले गठबन्धन गरेर निर्वाचनमा होमिएपनि माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएपछि माओवादी केन्द्र भने हौसिएको छ । मााओवादी केन्द्रले माओवादी केन्द्रले जितको सुरुवात गरेको बताइरहेको छ ।
रुकुम पूर्वमा देखिएको रोचक राजनीति
रुकुम पूर्वमा एमालेले पुथा उत्तरगंगा गाउपालिका उपाध्यक्षको उम्मेदवार कांग्रेसको निर्वाचन चिन्हबाट उठाएको छ । एमालेबाट उपाध्यक्षको उम्मेदवारले रुख चुनाव चिन्हमा निर्वाचनमा होमिने छ । उपाध्यक्षका लागि ७ जनाको मनोनयन दर्ता भएपनि नेकपा एसकी बुढासहित स्वतन्त्र उम्मेदवारहरु मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
योसंगै अब उपाध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार केशकुमारी तुलाचन र माओवादी केन्द्रकी उम्मेदवार नरपूरा बुढाबीच प्रतिष्पर्धा हुनेछ ।
नेकपा एसबाट उम्मेदवारी फिर्ता लिएकी सुनिता बुढा मगरले वामपन्थी एकताका निम्ति त्याग गरेको बताएकी छिन् । पुथा उत्तरगंगा गाउपालिकाका वडा नम्बर २ का वडाध्यक्षका उम्मेवारले फिर्ता लिएको विषय गैरजिम्मेवारीपना भएको एमालेको दाबी छ । भने एमालेले निर्वाचन आयोगमाथि समेत प्रश्न उठाएको छ । उनी पार्टी जिम्मेवारीबाट मुक्त भएको समेत बताइएको छ ।
गठबन्धन गर्दै नगर्ने जिकिर गरिरहेका दुई ठुला दलले गरेको सहकार्यलाई लिएर रुकुम पूर्व माओवादी केन्द्रका लागि प्रतिष्ठाको विषय बनेको छ भने अन्यका लागि चासोको विषय बनेको छ ।
अन्य क्षेत्रमा के हुँदैछ ?
जिल्ला समन्वय समिति कैलाली प्रमुखमा पनि कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । बुधबार नागरिक उन्मुक्ति पार्टीकी रुपमती डंगौरा थारुले उमेदवारी फिर्ता लिएपछि जिल्ला समन्वय समिति कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ । कांग्रेस एमाले बाहेकका सबै मत नाउपाले पाएपनि जित्ने सम्भावना नरहेकाले रुपमतीले उम्मेदवारी फिर्ता लिएकी हुन् ।