News 24 Television
महानगढीमाई मेलाको रौनक उत्कर्षमा, तयारी अन्तिम चरणमा 

पर्सा । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विश्व प्रसिद्ध ऐतिहासिक महागढीमाई मेला मंसिर १ गतेबाट विधिवत रुपमा सुरु भइसकेको छ । 

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा अवस्थित गढिमाई मन्दिरको दर्शनका लागी बिहानैदेखि दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । 

मेलालाई व्यवस्थित बनाउनका साथै भक्तजनहरुको बसोबास र सुरक्षाका लागी विभिन्न योजनाहरु लागु गरिएको छ । प्रत्येक ५ वर्षमा १ पटक १ महिनासम्म लाग्ने महागढीमाई मेला सुरु भईसकेको छ । गत असोज १७ गते घटस्थापनादेखि मेलाको शुभारम्भ भएपनि विधिवत रुपमा भने मंसिर १ गतेबाट मेला सुरु भएको हो । 

मसिर १७ गते विशेष पूजाको आयोजना गरी २४ गते पशुबली दिएर मेला समाप्त हुने गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ ।मेला सुरु भएदेखि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन तथा दर्शनार्थीहरुको चहलपहल बढ्दै गएको छ । मुलुकमा रहेका विभिन्न शक्तिपिठहरुको आ–आफ्नो किम्बदन्ती तथा महत्व भएजस्तै महागढीमाई मेलाको पनि छ्ट्टै महत्व रहेको छ । 

विश्वमै सर्वाधिक पशुबली दिइने हुँदा गढीमाई मेला एसियामा मात्रै नभई विश्वमै प्रख्यात रहेको छ । नरवलीको रूपमा मुख्य तान्त्रिकले आफ्नो मानव शरीरको पाँच स्थानबाट रगत निकालेर चढाउने परम्परा पूरा भएपछि मात्र पशुवली दिने गरिएको छ । 

मन्दिरमा मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुंगुर र राँगाको वली दिएपछि सर्वसाधारणले वलीदिन पाउने छन् । गढीमाता प्रतिको श्रद्धा र विश्वासकै कारण मेलाको अवलोकन गर्न तथा दर्शनका लागि नेपाल लगायत भारतबाट पनि लाखौँको संख्यामा भक्तजनहरु आउने गर्दछन् । गढीमाईको पूजा सहज रुपमा भएको मन्दिरमा आउने भक्तजनहरु बताउँछन् । यद्यपि पूजा आजाका लागि लिएको शूल्कमा भने उनीहरुले गुनासो गरे । 

भक्तजनहरुको बाक्लो उपस्थितिले महागढी मेलालाई अझ बढी विषेश बनाउने गर्दछ । यतीबेला दर्शनार्थीहरुको भिडले मन्दिरका पूजारीहरु निकै व्यस्त भएका छन् । मेलाकाके विशेष पूजाको तयारी अन्तिम चरणमा पुगेको छ भने विस्तारै भक्तजनहरुको भिड बाक्लिदै जान थालेको छ ।  

मेलामा आउने दर्शनार्थीहरुको बसोबास तथा सहजताका लागी निःशुल्क खानेपानी र शौचालय प्रबन्धको तयारी तिब्र गतिमा भइरहेको महागढीमाई नगरपालिकाका नगर प्रमुख तथा गढीमाई मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादवले बताए ।  यस्तै गढीमाई मन्दिर परिसरमा रहेका ४ वटा दान पेटिकाबाट करिब १८ लाख रुपैया संकलन भएको उनको भनाई छ ।

यस्तै सुनचाँदीका गरगहनाहरु समेत सुरक्षित राखिएको छ । विगतमा दानपेटिकामा रहेको भेटी पुजारीहरुले राख्ने गरेकोमा यसपटकदेखि गढीमाई ट्रष्टले राख्ने नगर प्रमुख यादवले बताए । यसपटकको गढीमाई मेलालाई थप व्यवस्थित बनाउन मधेश प्रदेश सरकारले विभिन्न सम्बन्धीत निकायसंग समन्वय गरिरहेको छ । 

गढीमाई मेलामा यसपटक ५० लाखभन्दा बढी भक्तजनहरु आउने अनुमान गरिएको छ । मेलाको विशेष पूजाको तयारी आगामी मंसिर १० गते सम्ममा सम्पन्न भइसक्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update